प्लास्टिक झोला प्रतिबन्ध
खुब सुनियो यो कुरा
घर, टोलछिमेक र बजारमा
केहीदिन अघि रु एकको सामानमा पनि
दुइटा झोला सित्तै दिने बिक्रेतालाई
रु दशको कपडाको झोला बेच्दै देखियो
प्लास्टिकझैं नटिक्ने कुरामा खप्पिस साथी
कुरा उस्तै अपत्यारिलो रह्यो तर
प्लास्टिक झोला बोक्न थालेको सुनियो
लागियो प्लास्टिके साथीकै लहलहैमा
बोक्न थालियो कपडाको झोला
लात्ताले हानियो प्लास्टिक झोलालाई
प्रेमीप्रेमिको बिछोडमा झैं
बगाइयो आशुका धाराहरु
तेत्रो बर्षको यो सामिप्यता
यै प्लास्टिके साथिको लहलहैमा
रुवाइयो बिचरा त्यो प्लास्टिकलाई
मिल्काइयो बारीका पाटामा
फर्कीफर्की हेर्दा पनि उस्ले
अर्कैतिर फर्किइयो बरु
बालै दिइएन उस्को भावनाको
न त बिदाईका हातहरु हल्लाइयो।
सुनियो बारीका पाटापाटादेखि
टोलछिमेकका गल्लीगल्लीमा
खुब कुंदे महानगरका गाडीहरु
सुनिन्थ्यो यस्तै रह्यो भने
बजारमा प्लास्टिकको नामोनिसान हुदैन
किन जानुपर्यो हिरामोती खोज्न बिदेश
स्वदेशमै प्लास्टिक खोजे हुदैन
बजारमा जे पाउदैन जहाँ जे अभाव छ
तै त हो सुनचाँदी तै त हो बहुमुल्य हिरामोती
नपत्याए भोकमरीमा परेकालाई सोध
दालचामल हैन त सुनचाँदी
दालचामल हैन त हिरामोती
नाकाबन्दीमा परेका शहरीयाहरुलाई सोध
ग्यास हैन त सुनचाँदी
ग्यास हैन त हिरामोती
हो, प्लास्टिक प्रतिबन्धित कार्यक्रम
प्लास्टिकलाई यस्तै बहुमुल्य बनाउला जस्तो थ्यो।
बिदेशी पर्यटक त घटेघटे
आन्तरिक पर्यटन पनि घट्यो
खुब पढिन्थ्यो अखबारका पानाहरुमा
लाग्यो, किन नगरौं बिचरण यो नगरको
प्लास्टिक प्रतिबन्धित यो शहरको
फुर्सदिलो यो शनिबार दिनको
पि. एम. भिमशम्शेर
को बिदाको चलनको
सधैंझै खेल चलिरकै थ्यो टुँडिखेलमा
मान्छेहरु त असंख्य थे नै
प्लास्टिक झोलाहरु नि असंख्य देखियो
पक्कै पनि त्यो प्लास्टिकको खानी
महानगरका गाडीहरुले सुरु गरेनन
मान्छेहरुले अभावैअभावमा प्लास्टिकलाई
साच्चिकै हिरामोती नै बनाइसकेछन
नभए कसरी जम्मा हुन्थ्यो तेत्रो संख्यामा प्लास्टिक झोलाहरु।
कसरी सुरु हुन्थ्यो प्लास्टिक खानी
मैले देखेको टुँडिखेलमा।।