Saturday, 28 November 2015

"अचम्मको संसार, अचम्मका मानिसहरु"

थरीथरीका मान्छेले भरिएको छ यो संसार। कोहि बाटो बिराएर रेल-मार्गमा पुगेको कुकुर या अन्य जनावरलाई बचाउन आफ्नो ज्यानको बाजी थाप्न पछि पर्दैनन्, कोहि त्यही रेल-मार्गमा लम्पसार परेर स्वर्गे हुन चाहन्छ्न्, तिमध्ये कोहि अस्पतालमा पुग्छन् उपचारका लागि, अरु पनि कोहि अस्पताल पुग्छन् तर उपचार हैन पोस्टमार्टमका लागि, कोहि सिधैं अन्तिम संस्कारका लागि पुग्छन्, कोहि अब गल्ती नदोहोर्‍याउने बाचा गर्छन्, कोहि बाचा पूरा पनि गर्छन, कोहि फेरि लाग्छ्न रेलको बाटो कुर्दै रेल चढेर हैन रेल-मार्गमै लम्पसार परेर स्वर्ग पुग्ने सोचाइका साथ, कोहि रुख या अरु केहि चढ्छन् गन्तब्य गाईवस्तुलाई घाँसपात या गाउँदेखी सहर हुदैन, कोहि अरु नै केही उपाय अपनाउछन् एक हप्ते बेलायत भ्रमण गरेजस्तो स्वर्ग भ्रमण गर्न, तिमध्ये कोहि धेरै पहिलेदेखी गल्ती नदोहोर्‍याउने बाचा गरेका हुन्छन्, कोहि भर्खर भर्खर गल्ती नदोहोर्‍याउने बाचा गरेका हुन्छन् या त त्यही समुहमा थपिन आएका नयाँ कोहि, कोहि अरुलाई आफै वा अरुको सहयोगले रेल-मार्गमा धकेल्न चाहन्छन्, कोहि धकेल्न सफल नि हुन्छन्, कोहि अन्धो कानुनको फेला पर्छन्, कोहि अन्धो कानुनको अन्धोपनाको फाइदा उठाई खुलेआम घुम्छन, कोहि डरले लुकेर बस्छन्, कोहि निडरहरु फेरि लाग्छन् अर्को शिकारको खोजीमा, कोहि आफ्नै आखाले देख्छन् यी सब कुरा, कोहि रेडियो, टिभि, पत्रपत्रिकाबाट थाहा पाउँछन्, कोहि थाहा नै पाउदैनन् कसरी थाहा पाउने, कोहि थाहा पाउनुपर्छ थाहा पाएर पनि सूचनाको अधिकारबाट वञ्चित गराइएका हुन्छन्, कोहि त्यस्ता घटना देखिसुनी केहिबेर दुखी हुन्छन अनि आफ्नो काम सुचारु गर्छन्, कोहि धेरैबेर दुखी हुन्छन्, कोहि जीवनभर दुखी हुन्छ्न्, कोहि दुखी नै हुदैनन्। अचम्मको छ यो संसार, अचम्मका छ्न् यहाँका मानिसहरु।।

Friday, 20 November 2015

"अचानोको व्यथा"

चुपचाप बस्छ ऊ।
नरमाइलो लाग्छ,
लाग्छ, ऊ पनि सक्रिय होस्
मेरा अरु मित्रहरूझैं,
अरु मित्रहरूझैं ऊ पनि
दुखसुखका कुरा गरोस्,
बुझोस् दुईदिने जिन्दगी यो
हाँसीहाँसी जिउनुपर्छ,
हो, दुख बाजा बजाइ आउँदैन
तर नमजाले बजाएर जान्छ।
सायद दुखले उसलाई बुँझेन,
हो, दुखले मलाई पनि बुझेन
अरुलाई नि बुझेन सायद
लाग्दैन कोहि छ यस्तो
दुखसँगै घुम्न मन लाग्ने
दुखसँगै नाँच्न मन लाग्ने
भन्याछैन कसैलाई दुखले सायद
ज्यान दिन्छु तेरो लागी।
ठोकेरै भन्न सक्छु म,
दुखी बनाउने धम्की दियो सायद
तर पक्का खुशीको बाचा गरेन दुखले।
सुख  नामको चरा नि हुन्छ जीवनमा
बुझाउन गरे लाखौ कोशिस
सिक्काका दुई पाटा भएजस्तै
दुख पछि सुख आउँछ आउँछ।
अहँ, टसको मस गर्दैन ऊ,
मौनतामा नै हराइरहन्छ
सायद अचानोरुपी मनले उस्को
खुकुरीरुपी दुखले लाएको चोट
बारम्बार सहिरहेछ।
बारम्बार सहिरहेछ॥

Saturday, 18 July 2015

गजल "चन्द्रमा"

उसैलाई  देख्छु किन, त्यो चन्द्रमाको ठाँउमा।।
लेखिदिउकी जीवन मेरो, त्यै चन्द्रमाको नाउँमा।

जति हेर्छु उसलाई म,त्यति नै हेर्छे मलाई ।।
किनिदिउकी छमछम पाउजु, प्रियसीको पाउमा।
लेखिदिउकी जीवन मेरो, त्यै चन्द्रमाको नाउँमा।

मन्दमुस्कान छर्दै जान्छे,फुलबारीको फुलझै।।
सार्न मिले फुलबारी त्यो, सार्थे आफ्नै गाउँमा।
लेखिदिउकी जीवन मेरो, त्यै चन्द्रमाको नाउँमा।

नहेरेका होइनन् अरुले,नहेरेको होइन अरुलाइ।।
उसैलाई सधैं म भने, आफ्नो बनाउने दाउमा।
लेखिदिउकी जीवन मेरो, त्यै चन्द्रमाको नाउँमा।

सोधेँ उसलाई हुन्छ भने,मिलेरै बाँडौ सुखदुःख ।।
राजी भइ उ पनि,मलहम लगाउन घाउमा।
लेखिदिए जीवन मेरो, त्यै चन्द्रमाको नाउँमा।।

Friday, 12 June 2015

मायालु मेरी

कोकिलकण्ठी छे उ,
सुमधुर आवाजकी धनी
ठट्यौली नि छ मोरी
जिस्किराख्छे सधैँ मसँग
चाहन्छे सायद खुसी भैरहु
ठट्टामा नै माया लुकाकी
एउटा बेग्लै आकर्षण बोकेकी
यस्तो लाग्छ,
सधैँ बोलिराखोस् उ
केवल सुनिरहुँ म
ठट्टा ठट्टामा नै सहि
अनुभव होस् माया उस्को।

नढाटी भनुँ,
प्रेम जोडी को मिलनमा
चलचित्रमा जस्तो
बज्दैन आफ्सेआफ गीत
हाम्रो सामीप्यतामा
तर लाग्दैन कमी छ कुनै
कथामा हाम्रो मायाको
के मजा लेख्नुको कथा
भिन्न नभए भन्दा अरुको।

बाटैमा मन्दिर उस्को घरको,
माग्नु बरदान हाम्रो जोडीको
जिस्काइदिए म नि के कम
केहि कहिले माग्याछैन
माग्दिन म उस्को जवाफ
माग न माग म कर गर्छु
उस्को जवाफ जस्ताको तस्तै
डराउछे उ संसारसँग सायद
डराउछे उ खुलेर प्रेम गर्न
रिस नि उठ्छ कहिलेकसो
झन्झन् माया पो लाग्छ
रिस मर्छ एकैछिनमा
अबोधपना लाई देखि उस्को
झट्ट सुन्दा कहिलेकाहीँ
प्रसङ्गहिन लाग्छ उस्का कुरा
केलाएर हेर्छु कुरालाई त्यहि
पाउछुँ
त केवल माया नै माया
मप्रतिको माया
मेरी मायालुको माया।।

Thursday, 14 May 2015

ताण्डव नाँच नाँच्यो धर्ती


बेस्सरी काँप्यो धर्ती
थर्थर थर्थर बेस्सरी थर्थरायो
दिउँसै अन्धकारको भय देखाई
बिरामी निको पार्ने झिनो आशमा
ढ्याङरो ठोक्दै डरको
निरन्तर झाँक्री काँपेजस्तै।।

काप्दै काप्दै धामीझाँक्रीले
पशु-पन्छीको बली मागेजस्तै
निरन्तर नरबली मागिरहयो
ताण्डव नाँच नाँचिरहयो।

अब त रोकियो नि झाँक्री काँप्न
निको हुने भो बिरामी त्यो
परेन अरु बलीको शिकार हुन
छाँउन थाल्छ खुसी मलिन मुहारमा।

किन मान्थ्यो नकाँपी बस्न
बली खान पल्केको झाँक्री त्यो
फेरि काँप्न थाल्यो जगै हल्लाई
थर्थर थर्थर निरन्तर।।


Friday, 17 April 2015

" अँध्यारो भित्ता - The Dark Wall "


उस्को लेन्स बाट निस्किएको प्रकाश
नगिचै को रित्तो भित्तोमा ठोकिन्छ
र पुनः लेन्समै ठोक्किन आइपुग्छ
क्यामेराको लेन्सको कुरा हैन,
संसार नियाल्ने आँखाको लेन्सको कुरा।

उज्याँलो दिनमा पनि,
अँध्यारो देख्छ ऊ भित्तालाई
भित्ता आफ्नै समस्यामा होला
समस्यामा म पनि यस्तै थिए सायद,
झल्झली नाँच्न थाल्छ्न् बिगतहरु
तिनै लेन्स जडीत आँखाहरुमा।

सोच्छ, रङ्गाइदिन्छु यो भित्तोलाई
रङ्गीन मौसममा त खुसी थेँ नि म पनि
उधुम मच्चायो कोठामा खोजी कार्यको
भेट्टायो त केवल एक जीर्ण बुरुस
घोट्न थाल्यो त्यै रित्तो भित्तोमा
पहिल्यै खुइलिएको बुरुस त्यो
बचेकुचेका गिँजा पनि फाटने गरि
बनायो एक सुन्दर पेन्टिङ,
रङ्गाइदियो अँध्यारो भित्ताको छाती।

खोइ! अझै  अँध्यारो छ त ऊ,
ढुङ्गा ढुङ्गाको घर्षनले आगो बलेजस्तै                                                                                                      सोचेछ, बुरुस र भित्ता काफी छ पेन्टिङलाई
भुलेछ उस्ले रंग नि चाहिन्छ चित्र बनाउन
अँध्यारोको अँध्यारो हटाउने, हतार हतारमा।।





Saturday, 10 January 2015

" ऊ "

ठिङ्ग उभिएको छुँ  म
अनायासै मेरा हात उतिर बढ्छ्न्
हो न हो, उस्को सहारा चाहिएको
च्याप्प मेरा साना हात समाउछ
माथी हेर्छु, म भन्दा कति अग्लो मान्छे
कल्पना गर्छु, कहिले हुँला ऊ जत्रो म
उस्को जस्तो टोपी कोट कहिले लाउने
उस्को जस्तो ठुलो जुत्तामा हिड्ने
ला‍! चप्पल त थ्यो नि सानो सानो
खाली खुट्टेै पो दौडिएछ
सायद फोटोमा देखिने खुशीले भुले।

मुस्कुराउन भाइ, क्यामेरा म्यान बोल्छ
मुस्कुराउन खोज्छु, लाज लाग्छ
मुस्कुराउदा थोते दाँत देखियो भने
अस्ति मात्र अगाडीको दाँत फालेको
उस्को जस्तै सेता मिलेका दाँत भैदिए
थोते दाँत बायाँ हातले छोप्छु
ल है त रेडी, फेरि क्यामेरा म्यान बोल्छ
खिचिक्क, खिचिक्क
झिलिक्क, झिलिक्क
ठ्याक्कै आँखामा प्रकाश पर्छ
आँखा त झिमिक्क,झिमिक्क
आँखा चिम्सा वा बन्द देखियो भने
चिन्ताले फेरि ग्रहण ल्याउछ
ऊ मेरो कम्मरमा च्याप्प समाउछ
अलिअली काउकुति को आभाष हुन्छ
ऊ मलाई काँध मा बोक्छ
दुबै हातले मेरा दुई हात समाउछ
अब त उभन्दा अग्लो म
अग्लो,अग्लो, उस्को शीरको टोपीभन्दा अग्लो
टाढा टाढा देख्न सक्ने
अघि चिन्तित म एकैछिनमा खुसी देखिन्छु
लाग्छ, संसारमै ऊ जस्तो मायालु कोहि छैन।।