Friday, 14 June 2019

" माफ गर्नुहोला महाशय "


सत्य त्रेता द्वापर कलि आइपुग्यो
कथाले मागेको खण्डमा युगै बदलियो
म खुद साक्षी छु,  दुनिया दिवाना बदलियो
बस् म बदलिएन,  मैले बदलिन जानिन
बलवान कहलिएको, समय
समय त बदलियो दिन रातमा
तर मेरा लागी दिनमै रात हुन्थ्यो
अनि हुन्थ्यो रातमै दिन पनि
वसन्तमै शिशिर हुन्थ्यो
अनि हुन्थ्यो शिशिरमै वसन्त पनि ।

बदलिएको हावाले छोएर होला
बाहिरी म भने खुब बदलियो
तेसबेलाको बच्चो म,
अहिले बुढो भएको छु
चम्किलो कसिलो छाला चाउरिएको छ
तेसबेलाका काला केशहरु सेता भए 
कुनै जमाना मा आफ्नै खुट्टामा दरो उभिने म
अहिले प्राणहिन काठका खुट्टाका भरमा छु ।

तर भित्री म,
कुन्नी कुन बलियो पर्खालले घेरिएको
बदलावको हावै छिर्न नसक्ने
कस्तो कोठा भेट्टाउन सकेको
एक चिम्टी परिवर्तनले छोएको होइन
भित्री म भने,
एकैबेरमा बच्चो भैदिन्छ
एकैबेरमा तन्नेरी भैदिन्छ
एकैबेरमा बुढो भैदिन्छ
एकछिनमै यहाँ भएको म
एकछिनमै त्यहाँ हुन्छु
एकछिन मै पाताल धर्ती स्वर्ग पुग्छु
सुर्य ग्रह ताराहरुसग खेल्न,
कहिले म अन्तरिक्ष मा पुग्छु
कहिले म ,
रवि नपुग्ने ठाउँ पुग्ने कवि हुन्छु ।

माफ गर्नुहोला महाशय,  
म म भए, म अरु हुन सकिन
माफ गर्नुहोला महाशय,  
म म भए, म अरु हुन जानिन ।





Sunday, 3 March 2019

" एकदिन म स्वर्गलोक पुगीगयाँ "

एकदिन म स्वर्गलोक पुगीगयाँ
आफ्नै, आफ्नाहरुकै गरु भलो भनी
यसो स्वर्गे भनाउदाहरुलाई
भरपुर चाप्लुसी गर्दिहालुम भनी
बहुत मेहनतले चाप्लुसी गरियो
चाप्लुसी यतिसम्म गरिएछ कि
हर स्वर्गे जन प्रसन्न भइगया
प्रसन्न मात्रै कहाँ हो र, बहुतै
बहुतैभन्दा ज्यादा प्रसन्न भइगया ।

स्वर्गेहरुका कुरा नि
कसैले मेरी छोरी अप्सरा तँलाई
अब यतै घरज्वाइँ बस् भन्याछन्
कसैले यो घर यो महल तेरो
कसैले यो जमिन तेरो भन्याछन्
कसैले मेरो सट्टा तँ यहाको मन्त्री
कसैले राजा नै भइजा भन्याछन्
कसैले तैले जती गर्नुथ्यो गरीस्
अब हामी तेरो सेवा गर्छौ भन्याछन् ।

जे होस यी स्वर्गे भन्याचै
तेसै स्वर्गे बन्यारैनछन्
मायाममता के हो सेवाभाव के हो
कसैले सिकाउनै नपर्ने 
भलो कुभलो के हो के गर्ने
कोही स्वर्गेबाटै सिकोस्
भन् के चाहन्छस् मनकै पुरा 
एकदिन सबैले भनिदिया
आफ्नो एकमात्र लक्ष्य 
चाप्लुसीले ताकेको अर्जुनबाँण
धर्तीलोक पाइला टेक्ने अनि
आफ्नो र आफ्नाको भलो ।

अहिलेसम्म धर्तिलोक हेर्न पाइँन
आज स्वर्ग आएसी पहिलोचोटी
स्वर्गेहरुकै कृपाले आफ्नालाई देखेँ
र देखेँ आफ्नाहरुको फेरिएको रुप 
फेरिएको स्वरुप देखेँ 
जे देखेँ सब कुरुप देखेँ
मन खिन्न भयो ब्यर्थै यस्तो लक्ष्य बोकेछु
देखेँ त्यो दिन घ्वाँ घ्वाँ रुनेहरु
आज एकपल नि सम्झिन छाडेछन्
नित्यकर्म चोरी, फट्याइँ, छलले
साह्रै बेफुर्सदिलो बनेछन् आफ्नाहरु
यस्ताको के भलो गर्नु र खै
बरु स्वर्गेहरुकै अफर सही लाग्यो अनि
धन त थिएन, तन मनले नै स्वर्गे भइयो 
र बसियो स्वर्गमा बिल्कुल उनिहरुजस्तै ।

Wednesday, 26 September 2018

" जात्रा "


यो जिन्दगी, 
जात्रै जात्रा को महाजात्रा हो
तिमी खुसी छौ 
तिम्रो आफ्नै बारीको जात्रा भैराहुन्छ
तिमी दुखी हुदा पनि जात्रै हुन्छ
अरु कोही त खुसी हुन्छ
अनि उस्ले जात्रा देखाउछ
कसैको बिहानै सुरु हुन्छ,
कसैको खाना खाइओरी हुन्छ
कसैको थाप्लैमाथी सुर्जे आइसकेसी सुरु हुन्छ
कसैको सुर्जे डुबेपश्चात सुरु हुन्छ
कसैको रातभरी चल्छ
कसैको दिन रात चल्छ
कसैको कैयौ दिन चल्छ
कसैको कैयौ रात चल्छ
कसैको महिनौ, कसैको बर्षौ चल्छ
कसैको मासिक, कसैको बार्षिक चल्छ
कसैको वाह्र बर्षमा एकफेरा नि चल्छ
कसैको बाचुन्जेल चल्छ
कसैको मरिसकेपछी नि चल्छ
अचम्मको छ है यो जात्राको यात्रा
तिमी चलायमान हुन्जेल चल्छ
चलायमान हुन छोडेपश्चात पनि 
चलायमान हुन छाड्दैन यो जात्रा।

Thursday, 6 September 2018

" टाउको को कथा "


उस्लाई टाउको दुख्यो
कि
टाउकोलाई उ दुख्यो
बस् सुन्नमा आएको हो
न मैले देखे
न अरु कसैले देख्यो।

यत्रो भार थेग्याछ टाउकोले
तर कहिले सोधेन उस्ले
ए टाउको, मेरो प्यारो साथी
लङ्गोटिया यार टाउके
तलाई केही गाह्रो त छैन है?
अहँ मरिजाउ सोध्या भए
बस् दिनदिनै दनदन हुने गरि
टाउको चलाइदेको छ
दिनको विपनामा त छोडिएन छोडिएन
रातमा चैन दिए हुन्थेन
उट्पट्याङ उट्पट्याङ सपना देख्या छ
अध्यारोमै दिमागको बत्ती जलाइदेको छ
कहिलेकाही त टाउकोलाई नि झोक चल्दो हो
यो मुन्छेलाई भित्तैभित्तामा ठोक्दिम क्यारे।

उस्लाई टाउको दुख्यो
कि
टाउकोलाई उ दुख्यो
बस् सुन्नमा आएको हो
न मैले देखे
न अरु कसैले देख्यो।




Saturday, 11 August 2018

“ पर्खाइ “


पर्खाइ,
यस्तो एउटा मीठो पर्खाइ 
केही कप मीठो चियाको पर्खाइ
नमिठो पछिको मिठोको लागि
तिर्खापछिको प्यासको लागि
तितोपछिको गुलियोको लागि
थोरैपछिको ज्यादाको लागि
लाज पछिको निर्लज्जाको लागि
नर्क पछिको स्वर्गको लागि
बाटोपछिको चौतारीको लागि
परदेशपछिको स्वदेशको लागि
अज्ञानता पछिको ज्ञानको लागि
अध्यारोपछिको उज्यालोको लागि।

पर्खाइ,
एउटा यस्तो पर्खाइ
पर्खाइपछिको नपर्खाइको लागि
बिपनापछिको सपनाको लागि
र फेरि 
सपनापछिको बिपनाको लागि
एउटा यस्तो पर्खाइको पर्खाइमा छु।

Friday, 3 August 2018

" चट्टान हुँ, चट्टान "

म एक चट्टान हुँ
तर समथर ठाउको हैन
उ त्या माथी भीरको चट्टान
पहाडको टुप्पोनेरैको भीर
थोरै माटोको भरमा
थोरै आफ्नो भरमा
धन्न बेलैमा अलि गहिरो गरि
मजबुतीले बसेको थे
र ठिङरिङ्ग उभेको छु।

मलाई बर्षे पानीले चुट्छ
त कहिले हिउँदे शीतले कठ्याउछ
दिनको घाम र रातको चिसोले
ज्यादती गर्छन्, ज्यादती
कमजोर झन कमजोर हुदैछु
पावरवाला चस्मा फेर्दा फेर्दा थाकिसके
आखा धमिला झन धमिला हुदैछन्
पोहोर सालदेखी जोर्नी दुखेर हैरान छु
नसाहरु झम्झम गर्छन्
भतभत पोल्छन्
दमले हैरान छु
दिन रात खोक्याखोक्यै
छातीको देब्रेमात्र हैन
दाहिने पाटो नि उत्तिकै दुख्छ
यस्तोमा नगिचैका फुच्चेफुच्ची चट्टान
यीनको चुरीफुरी देखिनसक्नुको छ
कति संघर्षले यत्रो भए
कति जोर लुगा फटाए फटाए
यसो आओ केटाकेटीहरु
मेरो नजिक आओ
तिमेरुलाई कामलाग्ने कुरा 
जीवनउपयोगी कुरा सिकाउछु भन्यो
शिक्षादिक्षा चाहिदैन रे फटाहाहरु
झन उल्टै शान्तीले बस्न नदिने
मर्ननसकेको बुढा भनी हिड्छन रे
जवानीले मात्तेका असत्तीहरु।

बिस्तारै मेरा जीउबाट
थोरैथोरै गरि माटो झर्दैछ
एकदिन आउनेछ
म पुरै माटो हुनेछु
या यस्तै बर्षाले पिरोल्न छोडेन भने
चाँडै माटोसँगको सम्बन्ध तोड्नेछु
र पहाडको टुप्पोबाट गुल्टिनेछु बेसीतिर
सिगो चट्टानले केही हानी गर्ला भनी
कोही नडराए हुन्छ
कोही नआत्तिए हुन्छ
मलाई थाहा छ,
म धेरै कमजोर भैसक्याछु 
माटो छोडी पहाडबाट गुल्टेको
केहिबेरमा नै म झर्यामझुरुम हुनेछु
र यही माटोमै बिलाउनेछु।


Friday, 29 June 2018

" चस्मा स्टोरी "

अरु चस्मा लाउछन् देख्छन्
म चस्मा लाउछु देख्तिन
हो म चस्मा पिडित हुँ
मलाइ उचित क्षतिपूर्ति चाहिन्छ
यस्तो चस्मा कसरी लाउनु अब
एउटा अच्छा लेकिन चस्मा चाहिन्छ।

स्पष्ट देख्छु पो भन्छ
घुम्ने मेचमाथिको अन्धो मान्छे
म के देख्छु
घुम्ने मेचमाथिको अन्धो मान्छे
उस्को माथी
अर्को घुम्ने मेच र अर्को अन्धो मान्छे
हुने कुरो पो देख्नु यार
नहुने कुरा देख्न रुचाउछ
यस्तो चस्मा कसरी लाउनु अब
एउटा अच्छा लेकिन चस्मा चाहिन्छ, चाहिन्छ।

उस्ले माया गरेर बोल्छे बिचरी
यो चस्मा के देख्छ
देख्छ उस्को फुलेको मुख
रिसले काप्दै गरेका ओंठहरु
देख्छ रिसैरिस बोकेको नाक
अनि देख्छ रिसालु बिषालु आँखा
कसरी सम्झाउ यो थोत्रो चस्मालाई
मेरी प्यारी, मेरी मायालु
मेरी मुटुकी टुक्रा
मेरो मुटु टुक्राउनेहरुमा पर्दिन भनेर
भनन यार, छिटो भन भन्या 
कसरी लाउ यस्तो तुच्छ चस्मा
उत्तर देउ मेरो प्रश्नको
सप्रसग व्याख्या दिनपर्दैन बरु
छोटो मीठो उत्तर देउ
भनिदेउ सखा, भनिदेउ यार
मलाई अर्को चस्मा चाहिन्छ, चाहिदैन?