Friday, 3 June 2016

" कलियुगको भीम "

सत्ययुगका सत्यहरिश्चन्द्रको पालाजस्तो
कतिपल्ट सोँचे मैले, कतिपल्ट आँटे मैले
लौजा! म नि सत्यवादी बन्छु अब
सत्य बोल्दैमा सत्यको पक्ष लिदैमा
मेरा बाउआमाको के नै जान्छ आखिर
चेत प्राण तब खुले जब जाने मैले
परेका बेला छ नि, चट्टै रुमाल क्यामालुम
शीरको बली पनि चढाइन्छ यहाँ
अब म आफैँ डराउछु बेलाबेला,
कतै बेलैमा अबेला हुने काम त भैराछैन यहाँ।

त्रेतायुगका रामचन्द्र दाजुको पालाजस्तो
कतिपल्ट सोँचे मैले, कतिपल्ट आँटे मैले
लौजा! अब भगवान जस्तो बन्छु पक्का
मान्छेको हित हुने काममा हिट हुन्छु
सुशासन ल्याउछु मर्यादापुरुषोत्तम बन्छु बनाउछु
तब झल्यास्स भए निद्राबाट जब जाने मैले
जिउँदो भगवान देखेकै छैनन् प्रजाले
जिउँदो भगवान देखिसहन्नन् रे राक्षसले
अब म आफैँ डराउछु बेलाबेला,
जवानीमै भगवानकहाँ पठाइदिने त हैनन् कतै।

द्वापरयुगका भीम दाजुको पालाजस्तो
कतिपल्ट सोँचे मैले, कतिपल्ट आँटे मैले
लौजा! अब भीम दाजुजत्तिकै बलवान् बन्छु
जिमखाना जान्छु टन्न डाइट पेल्छु
कौरवजतीलाई जरैदेखी उखेलेर फ्याल्छु
तब डम्बेल फ्यालेर भागेँ जब जाने मैले
भीम दाजुलाई नै डम्बेलमा बाधेर
जिम गर्दैछन आदरणिय कौरब दाजुहरु
अब म आफै डराउछु बेलाबेला,
भीम नाम सुनेर दाजुसँगै बाँधे भने त सकिगो नि।

हो, कति बखत मैले
सत्य बोलेको मन पराइदैन
सत्य बोल्नै दिइदैन कति बखत
कति बखत त,
म आफैँ डराउछु सत्य बोल्न
राज्यप्रजाको सेवा गर्ने सोच छोडी
बरु पहेँलो मेवा खाइन्छ , त्यो पनि,
कौरबका आँखामा धुलो पसेको बेला
हो, म मोडर्न कौरबहरुसँग साह्रै डराउछु
असत्यबादी, मर्यादापुरुषोखत्तम, काँतर,
गमेर हेर त, रत्तिभर फरक छैनाैँ तिमी र म।












Wednesday, 23 March 2016

" मन मिल्नेहरुको अमेलको कथा "

उस्ले भनी फोन नगर मलाई
किन नगर्नु माया लाग्छ
गर्छु गर्छु मैले भने
पर्दैन भने त उस्ले फेरि भनी
रिसालु भन्दा नि बिषालु
आक्रामक शैलीको आवाज
अब चाहिँ रीस उठ्यो है मलाई नि
नगर भनेसी नगर नगर, ठिकै छ
धेरैबेर उस्तै बस्न पत्थर हो र म
पत्थर हो र दाजु मेरो मुटु
तै पछि गएर ढुंगा त माटो हुन्छ भन्दोरैछ बिज्ञान
इँटाको जवाफ इँटाले दिन हाम्लाई नि आउँछ
आन्दोलनमा ताक्दा ताक्दा यो सहरमा
इँटाढुङ्गाको सदुपयोग गर्न जानिएकै छ
सहरमा भट्टीको कमी पनि छैन हौ दाजु
इँटाभट्टीको कुरा गरेको नि फेरि
नाम इटहरी नभएनी यो सहर
सानोतिनो के उस्तै अझ ठुलो इटहरी नै हो
आक्रामक हुन हाम्लाई नि आउँछ हौ दाजुकी बहिनी
जेठान बनाउन मिल्ने दाजुकी बहिनी।

सुरुसुरुमा त एकपटकमै मनाइन्थ्यो हौ गाँठे
अब सकिदैन, सकिदैसकिदैन दाजु
दुईदुई पटकभन्दा बढी कोशिस गर्नु र?
रिसाइरहने उस्लाई मनाइरहनु र?
पृथ्वीनारायण र म मा के फरक रहला फेरि?
दुईदुई पटकको कोसिस नि खेर जादा
कम्ता दुख्दैन दाजु यो मन
मन बुझ्नेझै लागेरै त हो नि
माया र पिरतिको कुरा गरेको
थाहै पाइन दाजु यादै रहेन दाजु
पिरतीमा पिर भन्ने शब्द नि छ भनेर
व्याकरण पढ्न त पढ्याथ्यो खै
सायद मायाको व्याकरण अलि बेग्लै हुदो हो
मन मिल्ने उसँगको अमेल चलिरहन्छ सधैजसो
अब बारम्बार यै गीत गुँजिन्छ दाजु
खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले
मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले।।

Tuesday, 22 March 2016

" लोड सेडिङ "

अन्धकार रात
चकमन्न छ टुप्कीहरुमा
लाल्टिन र टर्चलाइटहरुमा
सिर्फ टाँगिएका छन् 
बिना करेन्टका तारहरु
हेर्दा यस्तो लाग्छ 
एका जमानामा करेन्ट बोक्थे ती 
तर आज,
लुगा सुकाउनु तिनको एकमात्र काम
म धेरै भिन्नता देख्तिन
लुगा सुकाउने तारहरु 
र शिवजीका नागहरुमा
किनकि 
न त्यो तारले सधैं करेन्ट बोक्यो 
न त नागले चढाएको दूध नै पियो 
दुबै मुर्ति हुन्, मुर्तिझै छ्न्
अब अन्धकार पीडित जनताहरु
हरेक रात पुर्णी हुने 
र सुर्यझै चन्द्रमाको शक्ति हुने
बरदान माग्न हिड्दैछ्न्
उनै सृष्टिकर्ता ब्रह्मासँग।

ब्याट्री सकिन लागेसँगै
हिक्क हिक्क भक्कानिदैछन
हिजो हर्ष गीत गाउने रेडियोहरु 
बिजुलिको तारले मात्र भेट्न आउने रे  
बिजुली चै फुर्सदमा छैन रे शनिबार
हिजो चित्र देखाउन बोल्न नथाक्ने 
चुलबुले ती टेलिभिजनहरु
न हासेको देखियो न त रोएकै 
कोठाको शोभा बढाउने कम्प्युटर ल्याई
खुशी थिए माथ्लाघरे काका
तर आज,
अहँ,कम्प्युटर चल्ने नामै लिदैन त
अचानक आँसु झार्छ ऊ
सायद आन्द्राभुडी जस्ता पाटपुर्जा उस्का
खियाले अचार पो बनाइसक्यो कि?
त्यो सहयोगी रेफ्रेजेरेटोर
धेरै भो फ्रीज भाको
जागर छैन अब उसँग सायद 
त्यसैले एमोनियाको गुजारिस गर्छ
प्राय , हरेकचोटि, प्रत्येकचोटि 
तर वास्तविकता अर्कै छ
बास्तबमै, भन्नैपर्दा,
बास्तबिकता तपाईलाई नि था छ
बास्तबिकता मलाई नि था छ
नमिठो यथार्थ, नमिठो बास्तबिकता ।।

Sunday, 7 February 2016

गजल

चोर्न मिले चोर्थे मैले, मनपरेको तिम्रो मनलाई
आफ्नैसँग राख्थे मैले, मनपरेको तिम्रो मनलाई

माया गर्न नजान्या कि, नजानेझै गरेको हो
माया गर्न सिकाउथेँ मैले, मनपरेको तिम्रो मनलाई

बोलाउन खोज्दा पनि, नसुनेझै हिंड्या थ्यौ नि
गल्ती सुधार्न लाउथे मैले, मनपरेको तिम्रो मनलाई

मायाको बीउ रोपिदिन्थे, उर्वर तिम्रो मनको भुइमा
मल जल गराउथे मैले, मन परेको तिम्रो मनलाई

पूरा गर्न लागिपर्थे, तिम्ले लुकाका चाहनाहरु
सधै खुसी राख्थे मैले, मनपरेको तिम्रो मनलाई

antibody बनाउथे, रिसको antigen पत्ता लगाई
रिसाउँदा त्यै दिन्थे मैले, मनपरेको तिम्रो मनलाई

चोर्न मिले चोर्थे मैले, मनपरेको तिम्रो मनलाई
आफ्नैसँग राख्थे मैले, मनपरेको तिम्रो मनलाई







Saturday, 6 February 2016

हो साथी म पागल हुँ

हो साथी म पागल हुँ
तिमी झर्केर बोल्छौ
म शान्त बस्छु
अरुको चित्त दुखोस नदुखोस
हास्नु हसाउनु एकमात्र लक्ष्य तिम्रो
तिमी त्या नि प्वाक्क बोल्छौ
अर्काको चित्त दुख्ने देखे
त्या पनि म शान्त बस्छु
हो साथी म पागल हुँ
तिमी आफ्नो कुरा मात्र हुनुपर्छ ठान्छौ
म सबैलाइ मिलाइ लानुपर्छ भन्छु
तिमी सदाबहार त्यस्तै हुन्छौ
म परिस्थितिरुपी हावासगै बहकिन्छु
तिमी मलाइ रीसले हेर्छौ
तिम्लाइ म मन्द मुस्कानले हेर्छु
हो साथी म पागल हुँ ।।

अपरिचित मान्छे

हिजो साझ करिब ७:१५ बजेतिरको कुरा हो, म तिहारको टीका लाएर आफ्नो निवासतिर फर्कदै थे। बाटो अध्यारो थियो, मुस्किलले नजिक को अर्को मान्छेलाई चिन्न सक्थे म। एकजना अपरिचित जस्तो देखिने मान्छेले नमस्ते सर भनी सम्बोधन गर्यो। प्रतिउत्तरमा मैले हजुर भनेर मलाई नै भनेको हो कि हैन थाहा पाउन खोजे। उसले फेरि नमस्ते सर भन्यो। मैले पनि नमस्ते हजुर भन्दै बाटो लागे। एक मनले नभनेको हैन किन बोल्नु, चिन्नु न जान्नुको तर उस्को 'नमस्ते सर' लाई नसुनेझै गरेर हिडेको अर्को एकजना मान्छेलाई मेरै अगाडि गालिगलौजको सुरुको 'गा' देखि अन्त्यको 'ज' सम्म सबै गरेको सुन्ने सौभाग्य मेरा यी सद्दे कानले पनि पाएका थिए। नढाटिकनै भन्छु मलाई बिनासित्ती 'गालिगलौज' को 'गा' समेत पनि सुन्ने मन थिएन। अपरिचित त्यो मान्छे तिनपाने या चारपाने को कम्तीमा पनि तीन चार डोज चाखेको जस्तो भान पनि हुन्थ्यो। त्यो मान्छेले होसमै या बेहोसीमै भएपनि अर्को अपरिचित मान्छेसँग बोल्न खोज्नु चाहिँ मलाई किनकिन अत्यन्तै राम्रो बानी लाग्यो। हामीमध्ये धेरैजना होसमै हुँदा पनि अर्को मान्छे नजिक नभाको जस्तो पनि गर्ने गर्छौ तर उस्ले बेहोसीमै भएपनि राम्रो काम गरेर गयो।

घोर कलियुग!

घोर कलियुग! दुख लाग्छ यहाँ कि चाहिएको भन्दा धेरै छ चेतनाको स्तर मान्छेहरुको, कि त चाहिएको भन्दा कम। चाहिएजती चेतनाको स्तर भएका मान्छेहरु पाउनु अर्को कुनै ग्रहमा जीव अस्तित्व खोजेजस्तै गाह्रो, अझ भनौ त्यो भन्दा नि गाह्रो। ब्यक्तिगत स्वार्थको बढी महत्व दिने, कुशल नेतृत्व क्षमता प्रदर्शन गर्दै समाज, देश र सम्पुर्ण ब्रह्माण्डकै भलो हुने काम गर्न नसक्ने, गर्न सक्नेको पनि खुट्टा तान्ने, कसैले भनेको कुरामा सही गलत सोच्दै नसोची आफ्नो मगजलाई आफ्नो बिस्तारामै छाडी खाली मगज बिनाको खोपडी बोकेर उनिहरुको पछि लाग्ने या बिरोध गर्ने परिपाटीलाई दुखित मन बनाउदै टुलुटुलु हेर्न विवश छन्, बिचरा नगन्य संख्याका चाहिएजती चेतनाको स्तर भएकाहरु । घोर कलियुग!