Friday, 29 December 2017

" यात्रा "


एउटा भयंकर यात्रा को सम्झना
हजार माइलको यात्रा गीतमा जस्तो
पहिलो पाइलाबाटै श्रीगणेश गरिएको
अन्धकार रात 
टन्टलापुर दिन
सगसगै मनै उडाउने
हिउँदको कठ्याङ्ग्रीने चिसो हावा
चुहिएको छतजस्तै चुहिरहने
बर्षाको अबिरल पानी
हिमाल, पहाड, तराई
जङ्गल, बस्ती
शिखर, फेद
उकाली, ओराली
कतै नरोकिकनै बढेको यात्रा
यस्तो एउटा भयंकर यात्रा।

यस्तो एउटा यात्रा 
तय गरेजस्तो पनि लाग्छ
फेरि हैन जस्तो पनि लाग्छ
आज उकाली चढेको सम्झिदा
ओराली झरेको बिर्सिन्छ
ओराली झरेको सम्झिदा
उकाली चढेको बिर्सिन्छ
कहिले के सम्झिन्छ
कहिले के बिर्सिन्छ
बस यात्रा गुन्जिरहन्छ मनसपटलमा
हजार माइलकै थ्यो त्यो पनि बिर्सिन्छ।

Thursday, 21 September 2017

" आज आकाश रुदैछ "

आज
आकाश फेरि रुदैछ
उबेला जस्तै
गम्की गम्की रुदैछ
मन फुकाएर रुदैछ |

आज आकाश
आफु सङ्ग सङ्गै
घरका छानाहरुलाई रुवाउदैछ
घरका भित्ताहरुलाई रुवाउदैछ
रुखबिरुवा पातपतिङ्गरलाई रुवाउदैछ
चराचुरुङ्गी जीवजनावरलाई रुवाउदैछ
बुढाबुढीलाई रुवाउदैछ
तन्नेरिलाई रुवाउदैछ
र रुवाउदैछ बालबच्चालाई |

आज आकाश
मलाई रुवाउदैछ
मेरो साथीलाई रुवाउदैछ
मेरो साथीको साथीलाई रुवाउदैछ
एकछिन मजाले सम्झायो
केहिबेर रोकिन्छ पनि
खै के सम्झिन्छ फेरि
के पो पीडा बल्झिन्छ फेरि
भक्कानी भक्कानी रुन थाल्छ |

Sunday, 13 August 2017

" अरे ए मनप्राणी "

म थिए र त तिमी थियौ
म छु र त तिमी छ्यौ
मेरो मनमा, मनमन्दिरमा
म नहुँदो हुँ त?

अरे ए मनप्राणी,
के तिम्ले कहिले सोच्यौ?
के तिम्ले कहिले सोचौली?
म नहुँदो हुँ?
मेरो मन नहुँदो हो?
मेरो मनमा तिमी नहुँदो हो?

अरे ए मनप्राणी,
के तिम्ले कहिले सोच्यौ?
के तिम्ले कहिले सोचौली?
टन्टलापुर घाम लाग्दो हो
वर्षे झरी पर्दो हो
अनि तिमीसँग छाता नहुँदो हो
छाता ओढाइदिने कोही नहुँदो हो
निथ्रुक्कै भिज्दा पनि
कसैले बाँस नदिदो हो।

अरे ए मनप्राणी,
के तिम्ले कहिले सोच्यौ?
के तिम्ले कहिले सोचौली?
तिमी खुसी हुँदि हौ
सुनाउन कोही नहुँदो हो
तिमी दुखमा रुदि हौ
आँसु पुछ्ने कोही नहुँदो हो
साच्ची भन त
नढाँटी भन त
कस्तो लाग्थ्यो तिम्लाई?
म नहुँदो हुँ?
मेरो मन नहुँदो हो?
मेरो मनमा तिमी नभई
अरु नै कोही हुँदो हो?




Wednesday, 2 August 2017

" मरीमरी बाँचेको मान्छे, बाँचीबाँची मरेको मान्छे "

म बाँचेको मान्छे हुँ
मरीमरी बाँचेको मान्छे
म मरेको मान्छे हुँ
बाँचीबाँची मरेको मान्छे।

बाँचेको म

मरेको म
यी दुईबिच मैले
कैयनपटक
आफैँ आफ्नो कपाल खौरेको छु
आफैँ आफ्नो लास बोकेको छु
आफैँ आफ्नो टिला छरेको छु
आफैँले आफैँलाई दागबत्ती दिएको छु
आफैँ आफ्नो अस्तु सेलाएको छु
आफैँ आफ्नो किरिया बसेको छु
र आफैँ आफ्नो नुन पनि बारेको छु।

कहिले म आफैँ आफुसँग हारे
कहिले म तिमीसँग हारे
कहिले अरु कसैसँग हारे
कहिले म आफैँले आफुलाई मारे
कहिले तिम्ले मलाई मार्यौ
कहिले अरु कसैले मलाई मारे।

अचम्मले रोकियो है
बिगतको कहालीलाग्दो
बाह्र बाह्र बर्षसम्म
अरुले अरुमाथि गरेको काटमार
तर
रोकिएन कठैबरा
मैले ममाथि गरेको काटमार
न रोकियो
तिम्ले ममाथि गरेको काटमार
न त रोकियो
अरुले ममाथि गरेको काटमार नै।

हो म
हिजोजस्तै
अस्तिजस्तै
अस्तिको अस्तिजस्तै
पोहोरजस्तै
पोहरको पोहर जस्तै
मरीमरी बाँचेको छु
बाँचीबाँची मरेको छु।




Friday, 28 July 2017

" ए भगवान् "

ए भगवान्,
भगवान् ए
तँ जति सक्छस् नि
त्यति चोटहरु दे
त्यति दुखहरु दे
त्यति बिछोडहरु दे
मलाई कठपुतली सम्झिन्छस्
कठपुतलीझै नचा छमछमी।

ए भगवान्,
भगवान् ए
मैले मनमनै तँलाई देको
सराप नि याद गर्नु
एकदिन,
अरु कोही भगवान् बनोस्
र तँलाई नचाओस्
मलाई जस्तै गरि कठपुतलीमा
फनफनी
छमछमी
उस्कै इच्छाबमोजिम
उस्ले चाहेको बेला
उस्ले चाहुन्जेलसम्म
अनि थाहा होस् तलाई नि
कति गाह्रो हुन्छ सहन
चोटहरु, दुखहरु, बिछोडहरु।

Tuesday, 25 July 2017

" मेरी आमा सुइना देख्छिन् "

मेरी आमा सुइना देख्छिन्
र म सपना देख्छु
फरक छ त बस् तेत्ती अक्षरमा
थाहा नभएकालाई भन्दिहालुम
सुइना र सपना बिल्कुल उहीँ हुन्
आफुलाई भाषाबिद्नै भन्ठान्ने दुनिया
थाहा नपाएजस्तै गर्छ बुझ्पचाएजस्तै गर्छ
र बिलकुल फरक देख्छ
मेरी आमाले देखेको सुइना
र मैले देखेको सपना मा।

मेरी आमाले उनकी आमालाई
ज्यै भनी बोलाउथिन्
र म उनलाई आमा भन्छु
फरक छ त बस् तेत्ती अक्षरमा
थाहा नभएकालाई भन्दिहालुम
ज्यै र आमा बिल्कुल उहीँ हुन
आफुलाई भाषाबिद्नै भन्ठान्ने दुनिया
थाहा नपाएजस्तै गर्छ बुझ्पचाएजस्तै गर्छ
र बिलकुल फरक देख्छ
मेरी आमाले भनेको ज्यै
र मैले भन्ने गरेको आमा मा।

मेरी आमा माथ्थेट तल्लेट भन्छिन्
र म माथी भन्छु म तल भन्छु
फरक छ त बस् तेत्ती अक्षरमा
थाहा नभएकालाई भन्दिहालुम
माथ्थेट तल्लेट र माथी तल उहीँ हो
आफुलाई भाषाबिद्नै भन्ठान्ने दुनिया
थाहा नपाएजस्तै गर्छ बुझ्पचाएजस्तै गर्छ
र बिलकुल फरक देख्छ
मेरी आमाले भनेको माथ्थेट तल्लेट
र मैले भन्ने गरेको माथी तल मा।

यी त केवल उदाहरण हुन्
अझै कति यस्तै शब्दहरु
कति सुइनाहरु
कति ज्यैहरु
कति माथ्थेट तल्लेटहरु
चेपुवामा परेका छन्
पिल्सिएका छन्
उकुसमुकुस गर्दै
डरत्रासले लुकेका छन्
भाषाबिद् दुनियाको इसारामा।

Thursday, 13 July 2017

" अमरावती कान्तिपुरी नगरी "


कान्तिपुर कान्तिपुर नै रह्यो
नगर झन नगरपालिका भयो
नगरपालिका झन महा भयो
तर अमरावती
त्यो तिमी पछी कसैले देखेन
तिमिसगै बिलिन भयो ए भानुभक्त
तिम्ले देखेको अमरावती कान्तिपुरी नगरी।

अमरावती खोज्न मान्छे कम भयो कि
सोझा जनताले जनको संख्या बढाए
वन जङ्गल सोत्तर पारेर खोजे
अग्लो घरबाट हेर्दा देखिन्छ कि भन्ठाने
कमिलाका जस्ता घर हात्तीका भन्दा ठुला बनाए
मरिगए देखिएन ए भानुभक्त
तिम्ले देखेको अमरावती कान्तिपुरी नगरी।



Friday, 7 July 2017

" यी बराबर एम सी एम सी "



तिमी बोल्छौ तिमी बोलाउछौ
तिमी सुन्छौ तिमी सुनाउछौ
म पनि तिमी जस्तै छु
तर यी बिल्कुल उल्टा छन्
उल्टा माने अपोजिट
न बोल्छन् महोदय महोदया
न बोलाउछन् महोदय महोदया
न सुन्छन् महोदय महोदया
न सुनाउछ्न् महोदय महोदया
यी बराबर एम सी एम सी।

जब तिमी निभेका थियौ
अरुको सहयोग खोजेका थियौ
जब तिमी बलेका थियौ
अरुलाई पनि बलाउन खोजेका थियौ
तर यी बिल्कुल उल्टा छन्
उल्टा माने अपोजिट
रोइकराई सबैसँग सहयोग मागे
जब यी महोदय महोदया निभे
तर जब यी महोदय महोदया बले नी
यसरी बल्न खोजे कि मानौ
भगवान पहिलो चोटि प्रकट भए
यिनै महोदय महोदयाको यशले
अनि तथास्तुमा पाए उनै भगवानको
अब कहिले निभ्नुनपर्ने बरदान
अब यी लोडसेडिङमुक्त नेपालझै छन्
यी बराबर एम सी एम सी।

Monday, 3 July 2017

" प्रकृतिको राज "

घरीघरी कालो बादल, मडारिदै आज माथी छ
चट्याङको आवाजसँगै, प्रकाश पनि साथी छ
पुगिसक्यो तिम्रो राज, भन्छु राजगद्दी छोडिदेउ
भन्छ भख्खर शुरु भाको, केही महिना अझै बाँकी छ

प्रकृतीसँग को सक्ने खै, कस्को कस्को तेत्रो दम छ
घमाइलो देख्ने कहिले, जहिले पानीको झमझम छ
आफ्नो दम नबढुन्जेल, लड्ने कोशिस गरे धेरैले
भागे थाहा पाई  प्रकृतिसँग, संसार जलाउने बम छ


Sunday, 25 June 2017

" हावा, ए हावा "

ए हावा,
तिमी बेस्सरी बह
मनको बह पोखेरै बह
पसिनैपसिनाले बिझेको मेरो ज्यानबाट
पसिना को प पनि बाकी हुन नदिई
चट्ट रुमाल क्यामालुम गर्देउ
ए हावा, तिमी बेस्सरी बह
तिम्लाई तिम्रीको कसम
तिमी बेस्सरी बह
तिमी बेस्सरी बह

ए हावा, तिमी बेस्सरी बह
ह्या हावाजस्तो कुरा नगर्न
भनेर जुन उदाहरण लिन्छन नी
तेस्लाई तिम्ले बदल्नुछ, ए हावा
म तिम्लाई त्यो बदल्ने मौका दिदैछु
मौकामा चौका छक्का जे हान्नुछ हान
तिम्लाई तिम्रीको कसम
तिमी बेस्सरी बह
तिमी बेस्सरी बह

Saturday, 10 June 2017

" सेतो कोइली "

आज मैले एउटा कोइली देखे
सेतो, निख्खर सेतो
सेतो हिमाल देख्या छ नि
हो बिल्कुल, बिल्कुल तेस्तै
सफा, चिटिक्क, सुन्दर
सगरमाथाको देशमा
ए हैन हैन,
सगरमाथा हाम्रो भन्ने देश छ नि
हो, त्यै देशको छिमेकी देशमा
गौतम बुद्दको देशमा
ए हैन हैन,
बुद्द हाम्रोमा जन्मेको भन्ने देश छ नि
हो, त्यै देशको छिमेकी देशमा
छोड्दिउ देश देशान्तरका कुरा
तिम्ले हाम्ले कैले टाउको नदुखाको कुरा
राष्ट्रप्रेमको बारेमा बोल्यो बोल्यो
अन्तमा, सोध्यो केही बताउ राष्ट्रप्रेम बारे
राष्ट्रप्रेम भन्ने चिज नि हुन्छ र ?
हाम्लाई मायाप्रेम भन्ने कुरा चै था छ
बिपरित लिङ्गीप्रतीको मायाप्रेम
राष्ट्रप्रेम थाछैन भन्छ्न, फिस्स हास्छन
यस्ता त छन हाम्रा आजकलका भुरा।

अ सेतो कोइलीको कुरा हुदैथ्यो
अचम्मको थ्यो त्यो कोइली
मौसम अनुकुल नहुँदा
अरु कोइली बिदेश जानेआउने गर्थे
तर त्यो कोइली
बाचे यै बाच्छु मरे यै मर्छु भन्थ्यो
अरु कोइलीले बसन्त कुराउथे
कुहुकुहु सुन्न चाहनेहरुलाई
तर त्यो कोइली
के वसन्त, के शिशिर
के घाम, के जाडो
निराश पार्दैनथ्यो श्रोताहरुलाई।

अरु कोइली कागका गुँड खोज्थे
त्यै अन्डा पार्थे
बच्चा हुर्काउने जटिल काम
त्यो पनि कागहरुकै टाउकोमा थोपर्थे
तर त्यो अचम्मको कोइली
त्यो सब आफै गर्छु भन्थ्यो,
कागलाई थाहा नपाई यस्तो गर्नु
एकप्रकारको अपराध हो भन्थ्यो
अनुमति लिएर तेस्तो गर्नु
त्यो पनि मन पर्दैनथ्यो उसलाई
जुन पारिवारिक माया मैले पाइन
त्यो मेरा सन्तानलाई दिन्छु भन्थ्यो
हो आफै यो सब  गर्नु सार्हो गार्हो छ
तर,
तर साह्रो गाह्रो पछिको सन्तुष्टि नि
भन्थ्यो, के कहिले किन्न सकेको छ
धनको धनीले मनको धनीलाई
साच्चै धेरै, धेरै थाहा थ्यो उसलाई
हामी कथित मान्छे भनाउँदा भन्दा धेरै।





Thursday, 13 April 2017

" के चाहियो बढ्ता मलाई "


यस्तै नौलो बिहानी छाइराखोस्
यस्तै सिरसिर हावा चलिराखोस्
अनि चन्चल भैराखोस् मेरो मन पनि
आखिर के चाहियो बढ्ता मलाई?

तिमी यस्तै गरि खुसी भैराख
म यस्तै गरि खुसी भैराखु
यस्तै गरि खुसी भैराखुन उनिहरु पनि
आखिर के चाहियो बढ्ता मलाई?

मेरी आमाको मुहार उज्याँलो होस्
मेरा आफ्नाहरुको मुहार उज्याँलो होस्
अनि उज्याँलो होस् पराइको मुहार पनि
आखिर के चाहियो बढ्ता मलाई?

मेरो देशमा शान्ति र बिकास होस्
परदेशमा शान्ति र बिकास होस्
अनि शान्ति र बिकास होस् ब्रह्माण्डभरकै
आखिर के चाहियो बढ्ता मलाई?



Monday, 3 April 2017

" म लेख्छु, म लेख्नेछु "

कैले काहीं मुड चल्दैन
चल्दै चल्दैन
मरिगए चल्दैन
लेख्दिन अब भन्छु
फेरि मेरा हात चल्न थाल्छन्
औलाहरु सलबलाउन थाल्छन्
मैले भन्न नसकेका कुराहरु
मेरा लेखरचना बोल्छन्
हो म अब
नलेखी रहन नसक्ने भैसके।

हत्कडी लगाउ मेरा हात
बस मेरा औलाहरु खुल्ला छोडिदेउ
मेरा हात काट्यौ भने पनि
म खुट्टाका औलाले लेख्नेछु
हातखुट्टा दुबै काट्यौ
या दुबै नचल्ने बनायौ
या आफै नचल्ने भए भने पनि
म अरु कसैका हातखुट्टालाई
आफ्नै बनाई लेख्नेछु
चरेश नचाखेको नरेश म
हरेश त कदापि खानेछैन।

म माया पिरतीका कथा लेख्छु लेख्नेछु
म इतिहासका गाथा लेख्छु लेख्नेछु
म मेरो बारेमा लेख्छु लेख्नेछु
म तिम्रो बारेमा लेख्छु लेख्नेछु
म उस्को बारेमा लेख्छु लेख्नेछु
म जनआवाज लेख्छु लेख्नेछु
समर्थन र बिद्रोह लेख्छु लेख्नेछु
मानवचोलाको अन्तिम साँस रहुन्जेल
म डग्मगाए पनि
डग्मगाउने छैनन् मेरा लेखरचना
कदापी, कदापि डग्मगाउने छैनन् ।

Tuesday, 28 March 2017

" म भगवान हुँ "

बेलाबेलामा,
भगवान कस्तो हुन्छ तिम्लाई देखाइएको छ
तर नढाँटी भन त मित्र
के तिम्ले भगवान कस्तो हुन्छ देख्न सक्यौ?
मेरो मन कस्तो छ त्यो देखेका छौ र कहिले?
हो मभित्र मेरो भगवान छ,
मभित्र सम्पुर्ण ब्रह्माण्ड छ ।

म खुसी हुन्छु
मेरो भगवान हाँस्छ,
म दुखी हुन्छु
मेरो भगवान रुन्छ,
त्यो मुर्तीरुपी भगवान खै हाँसेको
त्यो मुर्तीरुपी भगवान खै रोएको ?

मैले नदेखेको भगवानलाई
कसरी मान्न सक्छु म भगवान?
अन्तर्मनले प्रष्ट देख्न सकेको मनलाई
कसरी नमानु म भगवान?
हो मभित्र मेरो भगवान छ,
मभित्र सम्पुर्ण ब्रह्माण्ड छ ।




" बन्दी "

चारैतिरबाट बन्द कोठामा छु म
बन्द कोठामा एउटा प्वाल पनि छ
उँज्यालोको एकमात्र स्रोत
तर धेरै माथी, धेरै धेरै माथी
धर्तीबाट चन्द्रमा हेरेजस्तै
रहरमै सिमित छ,
त्यहासम्म पुगी बाहिर हेर्ने रहर पनि
जस्तो रहर चन्द्रमा हेर्ने हरेकलाई हुन्थ्यो
चन्द्रमामा पाइला नटेकुन्जेल
सोच्दै बस्छु खै कहिले आउला
मेरो जीवनको सन १९६९।

हो, म एउटा अँध्यारो कोठामा
जिन्दगीको अँध्यारो काटिरहेछु
कति शिशिर गए, कति वसन्त आए खै
पहिले आशाको त्याँन्द्रो चुँडिएको थिएन
खुब गनिन्थ्यो
एक दिन,
एक हप्ता,
एक महिना,
एक बर्ष,
हुँदाहुँदा बाह्र बर्ष
सुनेको थे,
बाह्र वर्षमा खोलो पनि फर्किन्छ
तर मेरो जीवनमा सानो कुलो पनि फर्केन।

अब त,
मभित्रको म पनि मरिसकेको छ
भौतिक म छु त्यो पनि बिर्सिन्छु बेलाबेला
किनकी अबेला भैसकेको छ धेरै नै अबेला
कहिले म आमालाई मात्र सम्झिन्छु
कहिले म आफैलाई समेत बिर्सिन्छु
कहिले त खानाले भरिएको सामुन्नेको थाल पनि खाली देख्छु
कहिले खाली थाल पनि खानाले भरिएको देख्छु
अझ कहिले त नभएकै थाल पनि भएको देख्छु
कहिले सोच्छु म पागल भैसके
कहिले सोच्छु पागल त तिनिहरु हुन्
जसले मलाई पागलझै बनाए
र पागलझै बनाउन दिए
कहिले सोच्छु म जिउदो लास भैसके
कहिले सोच्छु जिउदो लास त तिनीहरु हुन्
जसले मलाई जिउदो लासझै बनाए
र जिउदो लासझै बनाउन दिए।


Thursday, 16 February 2017

" ए चराहरु ! "

ए चराहरु !
एकछिन सुन त ए चराहरु,
कसम छ तिमीहरुलाई
नढाँटी भन त मलाई
म जन्मिएर रुँदा
म खुसीले हाँस्दा होस
वा पीँडाले रुँदा होस
या त म कसैसँग बोल्दा नै होस
तिमीहरुले, तिम्रा आफन्तहरुले
कहीँ कतै कहिल्यै
मलाई सुन्यौ होला नि, हैन?
साँच्ची भन त,
तिमीहरुले मलाई सुन्यौ कि नाई?

ए चराहरु,
सायद सधै सुन्न भ्याएनौ होला
सायद सधै सुन्न चाहेनौ पनि होला
तर एकचोटी मात्रै भएपनि
थोरैबेर मात्रै भएपनी आखिर
हिजो तिमीहरुले मलाई सुन्याथ्यौ
त्यसैले,
आज तिमीहरु मेरो नजिक आउ
आज म तिमीहरुलाई सुन्नेछु
तिमीहरु चिर्बिर चिर्बिर गरिरहो
गीत गाउदै छमछमी नाँचीरहो
मनका कथा व्यथा सुनाइरहो
जे जे गर्नु छ निस्संदेह गरीरहो।

आज म,
मन नअघाउन्जेल तिम्रो छेउ बस्नेछु
जसरी पहिले तिमीहरु भुरर गर्दै
मेरो कुरा नसकिदै उडेकाथ्यौ नि
त्यसरी झट्टै म कदापी हिड्ने छैन
ताकी साथीत्वको महत्व बुझेका
मानव र पन्छी एकार्काका कारण
अरु कोही कही कतै कहिल्यै
एक्लो अनुभव गर्न नपरोस्
तिमीहरुले अरु सबलाई सुनाइदिनु
अब मान्छे र हामी साथी भैसक्यौँ
मान्छेलाई मान्छेले साथ नदिदा पनि
हामी साथ हुनुपर्छ रे भनेर सुनाइदिनु
चरालाई चराले साथ नदिदा पनि
मान्छे साथ हुन तयार छन् सुनाइदिनु।

Tuesday, 31 January 2017

" गल्ती सुधार गर आमा, तिमी गलत छ्यौ "

मलाई थाहा छैन
कि यो सहि थियो या गलत
आमा तिम्ले र बाबा तिम्ले
नौ नौ महिना कोखमा राखी
चार जिवित र एक मृत सन्तान
जन्म दिइसके पश्चात् पनि
क्याल्सियम, आइरन, फोलिक एसिड
र टि टि खोप नदेखेकी तिम्रो कोखमा
सन्तुलित भोजन के हो
थाहासम्म नपाएकी तिम्रो कोखमा
एउटा अर्को सन्तान यानकी म
संसार देख्न समय कुरिरहेको थिए
एक दिन, एक हप्ता, एक महिना
हुँदा हुँदा पूरा नौ महिना
जन्म लिएर यत्रो हुदासम्म
तिम्ले हरदम हरपल मलाई खुसी दियौ
कतिसम्म भने,
निरक्षर तिम्लाई साक्षरहरुले
कुरो मोडेर साक्षी बनाउँदा
एक कथित राक्षस्नीले
उस्को आफन्तबिरुद्द प्रमाण बन्यो भनेर
भला कि त्यो साचो नै थ्यो
तिम्लाई थला पर्ने गरि कुटेकी थिई
अन्यायमा परेकी तिम्ले
प्रहरीकोमा मुद्दा दर्जा गर्छु भनी
अरुलाई ५ मिनेट लाग्ने जिप्रका पुग्न
राक्षस्नीको प्रहारको चोटले
बिहान हिडेर साझ पुग्थ्यौ
तिमी ऐया आत्था गर्दैथ्यौ
आँसु पुछ्थेउ तर फेरि मुल फुट्थ्यो
तरपनी साझ होस या बिहान
तिम्ले कहिले भुलिनौ, आमा
मेरो लागि भात पकाउन
मेरा लागि रोटी पकाउन
मेरा लागि तिहुन पकाउन
मेरा लागि दूध उमाल्दिन
र तिम्रा यी हुर्केका सन्तानले
खै कुन हिम्मतले मलाई सुनाउछन कि
तिमी गलत छ्यौ भनेर
हो आमा आज म
तिनकै खुशीको लागि भन्दैछु
तिमी गलत छ्यौ, बिल्कुल गलत।।

मलाई अझै याद छ
पौडी सिक्ने र गर्मी बिट मार्ने
महान उद्देश्यले
बर्षायाममा जब म लहलहैमा
ठूलो नदीमा हाम फालेको थिए
र झन्डै बगेको थिए
कहिले नफर्किने गरि
तिमीबाट धेरै टाढा
पहिल्यै सब थाहा पाइसकेकि तिम्ले
भरे राती घर पुग्दा
मैले थाहा पाएसम्मको पहिलोपटक
मैले थाहा पाएसम्मको अन्तिमपटक
भिमलका सेता सेठ्ठाले कुटीकुटी
मेरो पौडिभुत उतारेकी थियौ
र चोटले म रुन लाग्दा
रुदै सुम्सुम्याउन आइपुगेकी थियौ।

खै तिम्ले भुल्यौ कि
तर मलाई अझै याद छ आमा
तिमी गाराघाटको उकालोमा
दमले गाह्रो बनाएर
हिड्न नसक्ने भएर थला परेकी थियौ नि
डाक्टरले देको रोटाहलरले तिम्रो दम
२० को १९ बनाउन सकेको थिएन
अनि म आत्तिए यस्तो ठाउँमा केही भैदिए
बसिरहदा झनझन दमले गाह्रो पार्ला भनी
घुर्की देखाउदै म एक्लै हिडेको थियो
तिम्ले देख्न त सकिनौ,
तर मेरो मुटु तेस्तरी तिमीसग बोल्दा
चसक्क चस्केको थियो
जसरी आजभोली पनि चस्किने गर्छ
म साह्रै दुखी हुदा, साह्रै पिडामा हुदा
सायद म हिडेको देखेर
तिमीमा हिड्नुपर्छ भन्ने मनसिकताले
दम अलि कम हुन्छ कि भन्ठाने
सानो उमेरको मेरो सानो मानसिकताले
त्यै ठिक सोच्यो होला सायद
तर तिम्ले एक्लै छोड्यो भन्ने सोच्यौ
कि खै के पो सोच्यौ
सायद सानोमा मैले कहिले यसरी नछोडेको यस्ले
कसरी छोडेर जान्छु भन्न सक्यो भन्ने सोच्यौ
आखाबाट पानी खसाल्दै
मलाई हेर्दै हिडेकी थियौ तिमी
तिम्ले सम्झिराछ्यौ कि बिर्सेउ
तर तिम्लाई तेस्तो देख्दा
मेरा आखाबाट पनि पानी थामिएका थिएनन।

म घरको एकतला माथिबाट खसेर
आँखा फर्काएर मरेजस्तो हुँदा
तिम्ले मुखसम्म पुग्नै लागेको गाँसलाई फ्यालेर
कुद्दैकुद्दै म छेउमा आइपुगेकी थियौ नि
अनि,
म हेलिकप्टरमा नचिनेका
बर्दी र हतियारधारी मान्छेहरुसँग
सदरमुकाम आइपुग्दा,
तिमी रातारात हस्याङफस्याङ दौडिदै
भोलिपल्टै मलाई अगाल्न आइपुग्याथ्यौ
चाहे त्यो पहिलोपल्ट मलाई बस चढाउदा होस
चाहे अस्ति दशैमा तिम्लाई भेटी फर्कदा होस
ममात्र हैन तिम्रा हरेक सन्तान छुट्टिदा
तिम्रो मन दुखिरहेको देख्छु म
हरेक पल्ट तिम्रा आँखा पहिलोपल्ट झै
रसाइरहेका हुन्छन् , बस रसाइरहेका हुन्छन
जब जब तिम्ले आफ्नो ममता देखायौ
तब तब तिमी गलत थियौ
तिमी गलत थियौ आमा, बिल्कुल गलत
तिमी त कडा हुनसक्नुपर्थ्यो, कडा
मैले अघि फोनमा सम्झाएजस्तै।

तिम्रो मनबाट ममता निस्कनै हुदैनथ्यो
कदापी, कदापी निस्कनै हुदैनथ्यो
तर फेरि लाग्छ, तिमी आमा हौ
प्रकृतिलेनै तिम्रो मन कमलो बनाएको छ
यसमा तिम्रो के दोष र आमा?
गल्ती कोबाट हुदैन र?
गल्ती गरेकै भएपनी कतै
आमाजस्तो देवीसग मिलाएर कुरा गर्न नजान्नु
तिम्रो मेरो झन ठूलो गल्ती त होइन?
कतै आमालाई बुझ्न नसक्ने तिमी र म
सन्तानको नाममा कलङ्क त हैनौ?
हो कहिलेकाही आमाले पनि गल्ती गर्दी हुन
तर के असल छोराछोरीले सिधै भन्न सक्छ
कि आमा तिमी गलत छ्यौ
गलत ती आमा होइनन बरु तिमी हामी हौ
कसरी कुरा गर्ने भेउ नभएका गलत मान्छे।।















Friday, 27 January 2017

" एक महल बन्दैछ, ताजमहलभन्दा पनि सुन्दर "

एकदिन म तिम्रा लागि
तिम्रा लागि, सिर्फ तिम्रा लागि
एउटा भयंकर कविता कोर्नेछु
जसमा,
मायापिरिमका सुन्दर शब्दहरु
अत्यन्तै सुन्दर तरिकाले मिलाएर
एउटा सुन्दर सिर्जना प्रस्फुटन हुनेछ,
भौतिक ताज महल बन्ला, नबन्ला
कवितामा झन सुन्दर महल बन्नेछ,
तिम्रा लागि, सिर्फ तिम्रा लागि
उच्च कोटीको उदाहरणमा गनिनेछ त्यो
तिमी रानी र म राजा बनेर
हाम्रो आफ्नै राजकाज चलाउने
एकमात्र यस्तो महल बन्नेछ,
तिम्रा लागि, सिर्फ सिर्फ तिम्रा लागि।

तिम्लाई लेख्ने गरेको
चिठीको गहिराइभन्दा झन गहिरा
भावनाहरु बर्षा गर्नेछु म
अनि तिमी र म मिलेर
त्यही बर्षाको पानी जम्मा गरौला
लेख्दालेख्दै मेरा आँसु, झरेछन, कतै भने
पढ्दापढ्दै तिम्रा आँसु, खसेछन, कतै भने
त्यो पनि त्यसैमा मिसाउला, हुदैन?
ताजमहल भन्दा सुन्दर महल अगाडि
एउटा सुन्दर पोखरी पनि चाहिएन?

ए रानी, एकदिन,
यो कुरा एकदिन,
एककान, दुईकान, चारकान, आठकान
सोह्रकान, बत्तिसकान हुनेछ हेर
उबेला श्रमीकका हात काटिन्थे रे
अर्को ताजमहल नबनोस भनेर,
म के गर्न सकुला, सोच सोच
हाम्रो सोच मिल्नु पनि त जरुरी छ
म पनि सोच्दैछु के अनौठो गरौ
महल बनाउनु एक ठाउँमा छ,
कविता पनि त उत्कृष्ट बनाउनु छ
अँ, यो महल बनाउन खर्चेका शब्द
फेरि कतै प्रयोग गरिने छैनन्,
अर्को कुनै सुन्दर महल बनाउन
फेरि कतै प्रयोग गरिने छैनन्,
तिमीबाहेक अरु कसैका लागि।

Friday, 13 January 2017

" प्रत्यक्षदर्शी एउटा अनुपम लडाइँको, प्रत्यक्षदर्शी एउटा अनुपम घम्साघम्सीको "

आकाश आज,
हिजो अस्ति जस्तो
धुम्म परेर रिसाएको छैन
कालो मडारिएको बादल
त्यो पनि त छैन नि आज
कुइरो र तुवाँलोले छेक्याछैन
बरु,
कुनै कमसल मिसावट रहित
बिशुद्द निलो रङले पोतिएको छ
आकाश साच्चिकै आकाशझै छ
सुर्य उबेलाझै तेजिलो देखिन्छ
तरपनी अझै,
जिउ पुरै तातिन धौ धौ छ
चिसो हावा बहन बिर्सेको छैन
मुटु कपाउन पनि बिर्सेको छैन
लाग्छ,
जाडो र गर्मीका बिच
घमासान लडाई चलिरहेछ
कहिले को जितिरहेछ
कहिले को हारिरहेछ
र म प्रत्यक्षदर्शी बनिरहेछु
एउटा अनुपम लडाइँको
एउटा अनुपम घम्साघम्सीको।।