Monday, 3 April 2017

" म लेख्छु, म लेख्नेछु "

कैले काहीं मुड चल्दैन
चल्दै चल्दैन
मरिगए चल्दैन
लेख्दिन अब भन्छु
फेरि मेरा हात चल्न थाल्छन्
औलाहरु सलबलाउन थाल्छन्
मैले भन्न नसकेका कुराहरु
मेरा लेखरचना बोल्छन्
हो म अब
नलेखी रहन नसक्ने भैसके।

हत्कडी लगाउ मेरा हात
बस मेरा औलाहरु खुल्ला छोडिदेउ
मेरा हात काट्यौ भने पनि
म खुट्टाका औलाले लेख्नेछु
हातखुट्टा दुबै काट्यौ
या दुबै नचल्ने बनायौ
या आफै नचल्ने भए भने पनि
म अरु कसैका हातखुट्टालाई
आफ्नै बनाई लेख्नेछु
चरेश नचाखेको नरेश म
हरेश त कदापि खानेछैन।

म माया पिरतीका कथा लेख्छु लेख्नेछु
म इतिहासका गाथा लेख्छु लेख्नेछु
म मेरो बारेमा लेख्छु लेख्नेछु
म तिम्रो बारेमा लेख्छु लेख्नेछु
म उस्को बारेमा लेख्छु लेख्नेछु
म जनआवाज लेख्छु लेख्नेछु
समर्थन र बिद्रोह लेख्छु लेख्नेछु
मानवचोलाको अन्तिम साँस रहुन्जेल
म डग्मगाए पनि
डग्मगाउने छैनन् मेरा लेखरचना
कदापी, कदापि डग्मगाउने छैनन् ।

No comments:

Post a Comment