Thursday, 16 February 2017

" ए चराहरु ! "

ए चराहरु !
एकछिन सुन त ए चराहरु,
कसम छ तिमीहरुलाई
नढाँटी भन त मलाई
म जन्मिएर रुँदा
म खुसीले हाँस्दा होस
वा पीँडाले रुँदा होस
या त म कसैसँग बोल्दा नै होस
तिमीहरुले, तिम्रा आफन्तहरुले
कहीँ कतै कहिल्यै
मलाई सुन्यौ होला नि, हैन?
साँच्ची भन त,
तिमीहरुले मलाई सुन्यौ कि नाई?

ए चराहरु,
सायद सधै सुन्न भ्याएनौ होला
सायद सधै सुन्न चाहेनौ पनि होला
तर एकचोटी मात्रै भएपनि
थोरैबेर मात्रै भएपनी आखिर
हिजो तिमीहरुले मलाई सुन्याथ्यौ
त्यसैले,
आज तिमीहरु मेरो नजिक आउ
आज म तिमीहरुलाई सुन्नेछु
तिमीहरु चिर्बिर चिर्बिर गरिरहो
गीत गाउदै छमछमी नाँचीरहो
मनका कथा व्यथा सुनाइरहो
जे जे गर्नु छ निस्संदेह गरीरहो।

आज म,
मन नअघाउन्जेल तिम्रो छेउ बस्नेछु
जसरी पहिले तिमीहरु भुरर गर्दै
मेरो कुरा नसकिदै उडेकाथ्यौ नि
त्यसरी झट्टै म कदापी हिड्ने छैन
ताकी साथीत्वको महत्व बुझेका
मानव र पन्छी एकार्काका कारण
अरु कोही कही कतै कहिल्यै
एक्लो अनुभव गर्न नपरोस्
तिमीहरुले अरु सबलाई सुनाइदिनु
अब मान्छे र हामी साथी भैसक्यौँ
मान्छेलाई मान्छेले साथ नदिदा पनि
हामी साथ हुनुपर्छ रे भनेर सुनाइदिनु
चरालाई चराले साथ नदिदा पनि
मान्छे साथ हुन तयार छन् सुनाइदिनु।

Tuesday, 31 January 2017

" गल्ती सुधार गर आमा, तिमी गलत छ्यौ "

मलाई थाहा छैन
कि यो सहि थियो या गलत
आमा तिम्ले र बाबा तिम्ले
नौ नौ महिना कोखमा राखी
चार जिवित र एक मृत सन्तान
जन्म दिइसके पश्चात् पनि
क्याल्सियम, आइरन, फोलिक एसिड
र टि टि खोप नदेखेकी तिम्रो कोखमा
सन्तुलित भोजन के हो
थाहासम्म नपाएकी तिम्रो कोखमा
एउटा अर्को सन्तान यानकी म
संसार देख्न समय कुरिरहेको थिए
एक दिन, एक हप्ता, एक महिना
हुँदा हुँदा पूरा नौ महिना
जन्म लिएर यत्रो हुदासम्म
तिम्ले हरदम हरपल मलाई खुसी दियौ
कतिसम्म भने,
निरक्षर तिम्लाई साक्षरहरुले
कुरो मोडेर साक्षी बनाउँदा
एक कथित राक्षस्नीले
उस्को आफन्तबिरुद्द प्रमाण बन्यो भनेर
भला कि त्यो साचो नै थ्यो
तिम्लाई थला पर्ने गरि कुटेकी थिई
अन्यायमा परेकी तिम्ले
प्रहरीकोमा मुद्दा दर्जा गर्छु भनी
अरुलाई ५ मिनेट लाग्ने जिप्रका पुग्न
राक्षस्नीको प्रहारको चोटले
बिहान हिडेर साझ पुग्थ्यौ
तिमी ऐया आत्था गर्दैथ्यौ
आँसु पुछ्थेउ तर फेरि मुल फुट्थ्यो
तरपनी साझ होस या बिहान
तिम्ले कहिले भुलिनौ, आमा
मेरो लागि भात पकाउन
मेरा लागि रोटी पकाउन
मेरा लागि तिहुन पकाउन
मेरा लागि दूध उमाल्दिन
र तिम्रा यी हुर्केका सन्तानले
खै कुन हिम्मतले मलाई सुनाउछन कि
तिमी गलत छ्यौ भनेर
हो आमा आज म
तिनकै खुशीको लागि भन्दैछु
तिमी गलत छ्यौ, बिल्कुल गलत।।

मलाई अझै याद छ
पौडी सिक्ने र गर्मी बिट मार्ने
महान उद्देश्यले
बर्षायाममा जब म लहलहैमा
ठूलो नदीमा हाम फालेको थिए
र झन्डै बगेको थिए
कहिले नफर्किने गरि
तिमीबाट धेरै टाढा
पहिल्यै सब थाहा पाइसकेकि तिम्ले
भरे राती घर पुग्दा
मैले थाहा पाएसम्मको पहिलोपटक
मैले थाहा पाएसम्मको अन्तिमपटक
भिमलका सेता सेठ्ठाले कुटीकुटी
मेरो पौडिभुत उतारेकी थियौ
र चोटले म रुन लाग्दा
रुदै सुम्सुम्याउन आइपुगेकी थियौ।

खै तिम्ले भुल्यौ कि
तर मलाई अझै याद छ आमा
तिमी गाराघाटको उकालोमा
दमले गाह्रो बनाएर
हिड्न नसक्ने भएर थला परेकी थियौ नि
डाक्टरले देको रोटाहलरले तिम्रो दम
२० को १९ बनाउन सकेको थिएन
अनि म आत्तिए यस्तो ठाउँमा केही भैदिए
बसिरहदा झनझन दमले गाह्रो पार्ला भनी
घुर्की देखाउदै म एक्लै हिडेको थियो
तिम्ले देख्न त सकिनौ,
तर मेरो मुटु तेस्तरी तिमीसग बोल्दा
चसक्क चस्केको थियो
जसरी आजभोली पनि चस्किने गर्छ
म साह्रै दुखी हुदा, साह्रै पिडामा हुदा
सायद म हिडेको देखेर
तिमीमा हिड्नुपर्छ भन्ने मनसिकताले
दम अलि कम हुन्छ कि भन्ठाने
सानो उमेरको मेरो सानो मानसिकताले
त्यै ठिक सोच्यो होला सायद
तर तिम्ले एक्लै छोड्यो भन्ने सोच्यौ
कि खै के पो सोच्यौ
सायद सानोमा मैले कहिले यसरी नछोडेको यस्ले
कसरी छोडेर जान्छु भन्न सक्यो भन्ने सोच्यौ
आखाबाट पानी खसाल्दै
मलाई हेर्दै हिडेकी थियौ तिमी
तिम्ले सम्झिराछ्यौ कि बिर्सेउ
तर तिम्लाई तेस्तो देख्दा
मेरा आखाबाट पनि पानी थामिएका थिएनन।

म घरको एकतला माथिबाट खसेर
आँखा फर्काएर मरेजस्तो हुँदा
तिम्ले मुखसम्म पुग्नै लागेको गाँसलाई फ्यालेर
कुद्दैकुद्दै म छेउमा आइपुगेकी थियौ नि
अनि,
म हेलिकप्टरमा नचिनेका
बर्दी र हतियारधारी मान्छेहरुसँग
सदरमुकाम आइपुग्दा,
तिमी रातारात हस्याङफस्याङ दौडिदै
भोलिपल्टै मलाई अगाल्न आइपुग्याथ्यौ
चाहे त्यो पहिलोपल्ट मलाई बस चढाउदा होस
चाहे अस्ति दशैमा तिम्लाई भेटी फर्कदा होस
ममात्र हैन तिम्रा हरेक सन्तान छुट्टिदा
तिम्रो मन दुखिरहेको देख्छु म
हरेक पल्ट तिम्रा आँखा पहिलोपल्ट झै
रसाइरहेका हुन्छन् , बस रसाइरहेका हुन्छन
जब जब तिम्ले आफ्नो ममता देखायौ
तब तब तिमी गलत थियौ
तिमी गलत थियौ आमा, बिल्कुल गलत
तिमी त कडा हुनसक्नुपर्थ्यो, कडा
मैले अघि फोनमा सम्झाएजस्तै।

तिम्रो मनबाट ममता निस्कनै हुदैनथ्यो
कदापी, कदापी निस्कनै हुदैनथ्यो
तर फेरि लाग्छ, तिमी आमा हौ
प्रकृतिलेनै तिम्रो मन कमलो बनाएको छ
यसमा तिम्रो के दोष र आमा?
गल्ती कोबाट हुदैन र?
गल्ती गरेकै भएपनी कतै
आमाजस्तो देवीसग मिलाएर कुरा गर्न नजान्नु
तिम्रो मेरो झन ठूलो गल्ती त होइन?
कतै आमालाई बुझ्न नसक्ने तिमी र म
सन्तानको नाममा कलङ्क त हैनौ?
हो कहिलेकाही आमाले पनि गल्ती गर्दी हुन
तर के असल छोराछोरीले सिधै भन्न सक्छ
कि आमा तिमी गलत छ्यौ
गलत ती आमा होइनन बरु तिमी हामी हौ
कसरी कुरा गर्ने भेउ नभएका गलत मान्छे।।















Friday, 27 January 2017

" एक महल बन्दैछ, ताजमहलभन्दा पनि सुन्दर "

एकदिन म तिम्रा लागि
तिम्रा लागि, सिर्फ तिम्रा लागि
एउटा भयंकर कविता कोर्नेछु
जसमा,
मायापिरिमका सुन्दर शब्दहरु
अत्यन्तै सुन्दर तरिकाले मिलाएर
एउटा सुन्दर सिर्जना प्रस्फुटन हुनेछ,
भौतिक ताज महल बन्ला, नबन्ला
कवितामा झन सुन्दर महल बन्नेछ,
तिम्रा लागि, सिर्फ तिम्रा लागि
उच्च कोटीको उदाहरणमा गनिनेछ त्यो
तिमी रानी र म राजा बनेर
हाम्रो आफ्नै राजकाज चलाउने
एकमात्र यस्तो महल बन्नेछ,
तिम्रा लागि, सिर्फ सिर्फ तिम्रा लागि।

तिम्लाई लेख्ने गरेको
चिठीको गहिराइभन्दा झन गहिरा
भावनाहरु बर्षा गर्नेछु म
अनि तिमी र म मिलेर
त्यही बर्षाको पानी जम्मा गरौला
लेख्दालेख्दै मेरा आँसु, झरेछन, कतै भने
पढ्दापढ्दै तिम्रा आँसु, खसेछन, कतै भने
त्यो पनि त्यसैमा मिसाउला, हुदैन?
ताजमहल भन्दा सुन्दर महल अगाडि
एउटा सुन्दर पोखरी पनि चाहिएन?

ए रानी, एकदिन,
यो कुरा एकदिन,
एककान, दुईकान, चारकान, आठकान
सोह्रकान, बत्तिसकान हुनेछ हेर
उबेला श्रमीकका हात काटिन्थे रे
अर्को ताजमहल नबनोस भनेर,
म के गर्न सकुला, सोच सोच
हाम्रो सोच मिल्नु पनि त जरुरी छ
म पनि सोच्दैछु के अनौठो गरौ
महल बनाउनु एक ठाउँमा छ,
कविता पनि त उत्कृष्ट बनाउनु छ
अँ, यो महल बनाउन खर्चेका शब्द
फेरि कतै प्रयोग गरिने छैनन्,
अर्को कुनै सुन्दर महल बनाउन
फेरि कतै प्रयोग गरिने छैनन्,
तिमीबाहेक अरु कसैका लागि।

Friday, 13 January 2017

" प्रत्यक्षदर्शी एउटा अनुपम लडाइँको, प्रत्यक्षदर्शी एउटा अनुपम घम्साघम्सीको "

आकाश आज,
हिजो अस्ति जस्तो
धुम्म परेर रिसाएको छैन
कालो मडारिएको बादल
त्यो पनि त छैन नि आज
कुइरो र तुवाँलोले छेक्याछैन
बरु,
कुनै कमसल मिसावट रहित
बिशुद्द निलो रङले पोतिएको छ
आकाश साच्चिकै आकाशझै छ
सुर्य उबेलाझै तेजिलो देखिन्छ
तरपनी अझै,
जिउ पुरै तातिन धौ धौ छ
चिसो हावा बहन बिर्सेको छैन
मुटु कपाउन पनि बिर्सेको छैन
लाग्छ,
जाडो र गर्मीका बिच
घमासान लडाई चलिरहेछ
कहिले को जितिरहेछ
कहिले को हारिरहेछ
र म प्रत्यक्षदर्शी बनिरहेछु
एउटा अनुपम लडाइँको
एउटा अनुपम घम्साघम्सीको।।





Sunday, 11 December 2016

" माया माया माया "

भो, तिम्रो माया अलि धेरै भएन र? अलिकती कम गर्दिदा हुन्थ्यो कि? धेरै माया कहिल्यै पाइएन, धेरै माया कहिल्यै खोज्दा नि खोजिएन। यो पहिले कहिल्यै नपाएको माया, यो पहिले कहिल्यै नखोजेको माया, पचाउ म कसोरी? तिम्रो यस्तो माया पचाउन त्यो हजमोला ले को त हो नि तर खै खाना त नपचाउने त्यो हाजमोला के पचाउथ्यो यतीका माया।

माया माया माया। अचम्मको छ यो माया। नहुदा नि हैरान हुने, हुदा नि हैरान नै हुने। यी दुईमा फरक अवश्य होला तर हैरानी, हैरानी त हैरानी नै हो नि हैन?

Friday, 9 December 2016

" आजकल मुटु काप्छ म बस्ने क्याटमान्डुमा "

आजकल मुटु काप्छ
म बस्ने क्याटमान्डुमा
हो, जाडो असाध्यै बढ्याछ
म बस्ने क्याटमान्डुमा।।

म पनि त तिमीजस्तै हु के र
मलाई नि तिम्लाई जस्तै पर्छ
बारम्बार सम्झाउथे नि म, हैन
सुन्यौ भएन त तिम्ले भने जस्तो
छेकेन त आखिर चिसो बतास
सायद तिम्ले सोचेको
तिम्रो सुन्दर मनले बनाइदेको
डाडारुपी बलियो पर्खाल
त्यो अलि बेग्लै थ्यो कि
त्यो अलि अग्लै थ्यो कि।

एकाबिहानै सिरेटो चल्छ
बाक्लो लुगाले पार लाउदैन
साझपख त नकुरा गर झन
ओढ्ने खप्याउदा नि सकिदैन
खै कुन कुनाबाट चिसो छिर्छ
खै किन यति माया गर्छिन प्रकृति
दिउँसोको घाम त्यति घमाइलो छैन
आजकल, केही दिन भो
खै त्यति रमाइलो पनि छैन।

साच्चै आजकल मुटु काप्छ
म बस्ने क्याटमान्डुमा
हो, जाडो असाध्यै बढ्याछ
म बस्ने क्याटमान्डुमा ।।

Wednesday, 2 November 2016

" उस्को आत्मा "

आजै र राती सपनीमा
एकजना चिनेको मान्छे देखे
कहि कतै हराएको मान्छे देखे
पछि कसैले सम्झायो मलाई
ऊ ऊ हैन रैछ मैले सोचेको ऊ
उजस्तै देखिने अरु नै कोही रैछ
ऊ नमजाले मसग रिसाको मान्छे
म उसग नमजाले रिसाको मान्छे
सम्भबै थेन नि त हाम्रो भेट पनि
मनले के मान्थ्यो, मन मुला मन नै हो
लुकीलुकी उजस्तै उसलाई हेरिरहे
सायद भारी हुने यो छातीको देब्रे पाटोमा
अझै कतै मायाको टुक्रो बाकी हुदो हो।

पहिले ऊ औधी माया गर्थ्यो मलाई
पछि माया देखाउनै जानेन उस्ले
अलि मूर्ख जस्तै के, म पनि तेस्तै बने
जस्तालाई तेस्तै ढिडोलाई निस्तै
उबाट पहिलेजस्तै माया खोज्थे म
उपनि मबाट तेस्तै खोज्थ्यो कि कतै
थाहै पाइएन, कठैबरी पत्तै लाइएन
रिसको आगोमा माया खरानी भैसकेछ
अफसोच, अफसोच,
जलिसकेको खरानी गङगा सेलाउनुपर्ने
त्यो पनि त गरिएन रिसैरिसको बिषमा
सायद त्यसैले तर्साउछ उस्को आत्माले
यस्तै भीडहरुमा त्यस्तै एकान्तहरुमा।