Friday, 2 August 2019

" क्लाइमेट चेन्ज "



परिवर्तनको यस्तो बिन्दुमा छु म
न परिवर्तित म ठीक छु
न त अपरिवर्तीत म नै ।

एक्लै बलिष्ठ हात्ती लडाउने
जमानाको बलिष्ठ बाघ म 
मरन्च्याँसे स्यालले लडाएको
घायल बाघ भएको छु आज
शाकाहारी हुँदा नि भोकै छु म
हामी पनि प्राणी हौ भन्दै आज
आन्दोलित छन् सागपातहरु
यस्तोमा म के खाउँ
कसोरी आफ्नो भोको पेटलाई सम्झाउँ
प्राण लिन नपाईकन प्राणीहरुको
कसोरी प्राण जोगाउँ म आफ्नो  ।

आज यसरी म जलिरहेछु
जसरी जल्छन् सुर्जे महाराज
आज यसरी म चिसिएको छु
जसरी चिसिन्छिन् बरफ महारानी
बाहिरको क्लाइमेट चेन्ज कस्को चासो
आफ्नै मनभित्र हुँदा पो आज कत्रो पासो ।





Friday, 14 June 2019

" माफ गर्नुहोला महाशय "


सत्य त्रेता द्वापर कलि आइपुग्यो
कथाले मागेको खण्डमा युगै बदलियो
म खुद साक्षी छु,  दुनिया दिवाना बदलियो
बस् म बदलिएन,  मैले बदलिन जानिन
बलवान कहलिएको, समय
समय त बदलियो दिन रातमा
तर मेरा लागी दिनमै रात हुन्थ्यो
अनि हुन्थ्यो रातमै दिन पनि
वसन्तमै शिशिर हुन्थ्यो
अनि हुन्थ्यो शिशिरमै वसन्त पनि ।

बदलिएको हावाले छोएर होला
बाहिरी म भने खुब बदलियो
तेसबेलाको बच्चो म,
अहिले बुढो भएको छु
चम्किलो कसिलो छाला चाउरिएको छ
तेसबेलाका काला केशहरु सेता भए 
कुनै जमाना मा आफ्नै खुट्टामा दरो उभिने म
अहिले प्राणहिन काठका खुट्टाका भरमा छु ।

तर भित्री म,
कुन्नी कुन बलियो पर्खालले घेरिएको
बदलावको हावै छिर्न नसक्ने
कस्तो कोठा भेट्टाउन सकेको
एक चिम्टी परिवर्तनले छोएको होइन
भित्री म भने,
एकैबेरमा बच्चो भैदिन्छ
एकैबेरमा तन्नेरी भैदिन्छ
एकैबेरमा बुढो भैदिन्छ
एकछिनमै यहाँ भएको म
एकछिनमै त्यहाँ हुन्छु
एकछिन मै पाताल धर्ती स्वर्ग पुग्छु
सुर्य ग्रह ताराहरुसग खेल्न,
कहिले म अन्तरिक्ष मा पुग्छु
कहिले म ,
रवि नपुग्ने ठाउँ पुग्ने कवि हुन्छु ।

माफ गर्नुहोला महाशय,  
म म भए, म अरु हुन सकिन
माफ गर्नुहोला महाशय,  
म म भए, म अरु हुन जानिन ।





Sunday, 3 March 2019

" एकदिन म स्वर्गलोक पुगीगयाँ "

एकदिन म स्वर्गलोक पुगीगयाँ
आफ्नै, आफ्नाहरुकै गरु भलो भनी
यसो स्वर्गे भनाउदाहरुलाई
भरपुर चाप्लुसी गर्दिहालुम भनी
बहुत मेहनतले चाप्लुसी गरियो
चाप्लुसी यतिसम्म गरिएछ कि
हर स्वर्गे जन प्रसन्न भइगया
प्रसन्न मात्रै कहाँ हो र, बहुतै
बहुतैभन्दा ज्यादा प्रसन्न भइगया ।

स्वर्गेहरुका कुरा नि
कसैले मेरी छोरी अप्सरा तँलाई
अब यतै घरज्वाइँ बस् भन्याछन्
कसैले यो घर यो महल तेरो
कसैले यो जमिन तेरो भन्याछन्
कसैले मेरो सट्टा तँ यहाको मन्त्री
कसैले राजा नै भइजा भन्याछन्
कसैले तैले जती गर्नुथ्यो गरीस्
अब हामी तेरो सेवा गर्छौ भन्याछन् ।

जे होस यी स्वर्गे भन्याचै
तेसै स्वर्गे बन्यारैनछन्
मायाममता के हो सेवाभाव के हो
कसैले सिकाउनै नपर्ने 
भलो कुभलो के हो के गर्ने
कोही स्वर्गेबाटै सिकोस्
भन् के चाहन्छस् मनकै पुरा 
एकदिन सबैले भनिदिया
आफ्नो एकमात्र लक्ष्य 
चाप्लुसीले ताकेको अर्जुनबाँण
धर्तीलोक पाइला टेक्ने अनि
आफ्नो र आफ्नाको भलो ।

अहिलेसम्म धर्तिलोक हेर्न पाइँन
आज स्वर्ग आएसी पहिलोचोटी
स्वर्गेहरुकै कृपाले आफ्नालाई देखेँ
र देखेँ आफ्नाहरुको फेरिएको रुप 
फेरिएको स्वरुप देखेँ 
जे देखेँ सब कुरुप देखेँ
मन खिन्न भयो ब्यर्थै यस्तो लक्ष्य बोकेछु
देखेँ त्यो दिन घ्वाँ घ्वाँ रुनेहरु
आज एकपल नि सम्झिन छाडेछन्
नित्यकर्म चोरी, फट्याइँ, छलले
साह्रै बेफुर्सदिलो बनेछन् आफ्नाहरु
यस्ताको के भलो गर्नु र खै
बरु स्वर्गेहरुकै अफर सही लाग्यो अनि
धन त थिएन, तन मनले नै स्वर्गे भइयो 
र बसियो स्वर्गमा बिल्कुल उनिहरुजस्तै ।