Friday, 29 December 2017

" यात्रा "


एउटा भयंकर यात्रा को सम्झना
हजार माइलको यात्रा गीतमा जस्तो
पहिलो पाइलाबाटै श्रीगणेश गरिएको
अन्धकार रात 
टन्टलापुर दिन
सगसगै मनै उडाउने
हिउँदको कठ्याङ्ग्रीने चिसो हावा
चुहिएको छतजस्तै चुहिरहने
बर्षाको अबिरल पानी
हिमाल, पहाड, तराई
जङ्गल, बस्ती
शिखर, फेद
उकाली, ओराली
कतै नरोकिकनै बढेको यात्रा
यस्तो एउटा भयंकर यात्रा।

यस्तो एउटा यात्रा 
तय गरेजस्तो पनि लाग्छ
फेरि हैन जस्तो पनि लाग्छ
आज उकाली चढेको सम्झिदा
ओराली झरेको बिर्सिन्छ
ओराली झरेको सम्झिदा
उकाली चढेको बिर्सिन्छ
कहिले के सम्झिन्छ
कहिले के बिर्सिन्छ
बस यात्रा गुन्जिरहन्छ मनसपटलमा
हजार माइलकै थ्यो त्यो पनि बिर्सिन्छ।

Thursday, 21 September 2017

" आज आकाश रुदैछ "

आज
आकाश फेरि रुदैछ
उबेला जस्तै
गम्की गम्की रुदैछ
मन फुकाएर रुदैछ |

आज आकाश
आफु सङ्ग सङ्गै
घरका छानाहरुलाई रुवाउदैछ
घरका भित्ताहरुलाई रुवाउदैछ
रुखबिरुवा पातपतिङ्गरलाई रुवाउदैछ
चराचुरुङ्गी जीवजनावरलाई रुवाउदैछ
बुढाबुढीलाई रुवाउदैछ
तन्नेरिलाई रुवाउदैछ
र रुवाउदैछ बालबच्चालाई |

आज आकाश
मलाई रुवाउदैछ
मेरो साथीलाई रुवाउदैछ
मेरो साथीको साथीलाई रुवाउदैछ
एकछिन मजाले सम्झायो
केहिबेर रोकिन्छ पनि
खै के सम्झिन्छ फेरि
के पो पीडा बल्झिन्छ फेरि
भक्कानी भक्कानी रुन थाल्छ |

Sunday, 13 August 2017

" अरे ए मनप्राणी "

म थिए र त तिमी थियौ
म छु र त तिमी छ्यौ
मेरो मनमा, मनमन्दिरमा
म नहुँदो हुँ त?

अरे ए मनप्राणी,
के तिम्ले कहिले सोच्यौ?
के तिम्ले कहिले सोचौली?
म नहुँदो हुँ?
मेरो मन नहुँदो हो?
मेरो मनमा तिमी नहुँदो हो?

अरे ए मनप्राणी,
के तिम्ले कहिले सोच्यौ?
के तिम्ले कहिले सोचौली?
टन्टलापुर घाम लाग्दो हो
वर्षे झरी पर्दो हो
अनि तिमीसँग छाता नहुँदो हो
छाता ओढाइदिने कोही नहुँदो हो
निथ्रुक्कै भिज्दा पनि
कसैले बाँस नदिदो हो।

अरे ए मनप्राणी,
के तिम्ले कहिले सोच्यौ?
के तिम्ले कहिले सोचौली?
तिमी खुसी हुँदि हौ
सुनाउन कोही नहुँदो हो
तिमी दुखमा रुदि हौ
आँसु पुछ्ने कोही नहुँदो हो
साच्ची भन त
नढाँटी भन त
कस्तो लाग्थ्यो तिम्लाई?
म नहुँदो हुँ?
मेरो मन नहुँदो हो?
मेरो मनमा तिमी नभई
अरु नै कोही हुँदो हो?




Wednesday, 2 August 2017

" मरीमरी बाँचेको मान्छे, बाँचीबाँची मरेको मान्छे "

म बाँचेको मान्छे हुँ
मरीमरी बाँचेको मान्छे
म मरेको मान्छे हुँ
बाँचीबाँची मरेको मान्छे।

बाँचेको म

मरेको म
यी दुईबिच मैले
कैयनपटक
आफैँ आफ्नो कपाल खौरेको छु
आफैँ आफ्नो लास बोकेको छु
आफैँ आफ्नो टिला छरेको छु
आफैँले आफैँलाई दागबत्ती दिएको छु
आफैँ आफ्नो अस्तु सेलाएको छु
आफैँ आफ्नो किरिया बसेको छु
र आफैँ आफ्नो नुन पनि बारेको छु।

कहिले म आफैँ आफुसँग हारे
कहिले म तिमीसँग हारे
कहिले अरु कसैसँग हारे
कहिले म आफैँले आफुलाई मारे
कहिले तिम्ले मलाई मार्यौ
कहिले अरु कसैले मलाई मारे।

अचम्मले रोकियो है
बिगतको कहालीलाग्दो
बाह्र बाह्र बर्षसम्म
अरुले अरुमाथि गरेको काटमार
तर
रोकिएन कठैबरा
मैले ममाथि गरेको काटमार
न रोकियो
तिम्ले ममाथि गरेको काटमार
न त रोकियो
अरुले ममाथि गरेको काटमार नै।

हो म
हिजोजस्तै
अस्तिजस्तै
अस्तिको अस्तिजस्तै
पोहोरजस्तै
पोहरको पोहर जस्तै
मरीमरी बाँचेको छु
बाँचीबाँची मरेको छु।




Friday, 28 July 2017

" ए भगवान् "

ए भगवान्,
भगवान् ए
तँ जति सक्छस् नि
त्यति चोटहरु दे
त्यति दुखहरु दे
त्यति बिछोडहरु दे
मलाई कठपुतली सम्झिन्छस्
कठपुतलीझै नचा छमछमी।

ए भगवान्,
भगवान् ए
मैले मनमनै तँलाई देको
सराप नि याद गर्नु
एकदिन,
अरु कोही भगवान् बनोस्
र तँलाई नचाओस्
मलाई जस्तै गरि कठपुतलीमा
फनफनी
छमछमी
उस्कै इच्छाबमोजिम
उस्ले चाहेको बेला
उस्ले चाहुन्जेलसम्म
अनि थाहा होस् तलाई नि
कति गाह्रो हुन्छ सहन
चोटहरु, दुखहरु, बिछोडहरु।

Tuesday, 25 July 2017

" मेरी आमा सुइना देख्छिन् "

मेरी आमा सुइना देख्छिन्
र म सपना देख्छु
फरक छ त बस् तेत्ती अक्षरमा
थाहा नभएकालाई भन्दिहालुम
सुइना र सपना बिल्कुल उहीँ हुन्
आफुलाई भाषाबिद्नै भन्ठान्ने दुनिया
थाहा नपाएजस्तै गर्छ बुझ्पचाएजस्तै गर्छ
र बिलकुल फरक देख्छ
मेरी आमाले देखेको सुइना
र मैले देखेको सपना मा।

मेरी आमाले उनकी आमालाई
ज्यै भनी बोलाउथिन्
र म उनलाई आमा भन्छु
फरक छ त बस् तेत्ती अक्षरमा
थाहा नभएकालाई भन्दिहालुम
ज्यै र आमा बिल्कुल उहीँ हुन
आफुलाई भाषाबिद्नै भन्ठान्ने दुनिया
थाहा नपाएजस्तै गर्छ बुझ्पचाएजस्तै गर्छ
र बिलकुल फरक देख्छ
मेरी आमाले भनेको ज्यै
र मैले भन्ने गरेको आमा मा।

मेरी आमा माथ्थेट तल्लेट भन्छिन्
र म माथी भन्छु म तल भन्छु
फरक छ त बस् तेत्ती अक्षरमा
थाहा नभएकालाई भन्दिहालुम
माथ्थेट तल्लेट र माथी तल उहीँ हो
आफुलाई भाषाबिद्नै भन्ठान्ने दुनिया
थाहा नपाएजस्तै गर्छ बुझ्पचाएजस्तै गर्छ
र बिलकुल फरक देख्छ
मेरी आमाले भनेको माथ्थेट तल्लेट
र मैले भन्ने गरेको माथी तल मा।

यी त केवल उदाहरण हुन्
अझै कति यस्तै शब्दहरु
कति सुइनाहरु
कति ज्यैहरु
कति माथ्थेट तल्लेटहरु
चेपुवामा परेका छन्
पिल्सिएका छन्
उकुसमुकुस गर्दै
डरत्रासले लुकेका छन्
भाषाबिद् दुनियाको इसारामा।

Thursday, 13 July 2017

" अमरावती कान्तिपुरी नगरी "


कान्तिपुर कान्तिपुर नै रह्यो
नगर झन नगरपालिका भयो
नगरपालिका झन महा भयो
तर अमरावती
त्यो तिमी पछी कसैले देखेन
तिमिसगै बिलिन भयो ए भानुभक्त
तिम्ले देखेको अमरावती कान्तिपुरी नगरी।

अमरावती खोज्न मान्छे कम भयो कि
सोझा जनताले जनको संख्या बढाए
वन जङ्गल सोत्तर पारेर खोजे
अग्लो घरबाट हेर्दा देखिन्छ कि भन्ठाने
कमिलाका जस्ता घर हात्तीका भन्दा ठुला बनाए
मरिगए देखिएन ए भानुभक्त
तिम्ले देखेको अमरावती कान्तिपुरी नगरी।