Thursday, 29 March 2018

" कविताले खुद भनी, कविता लेख्देउ न "



कविता, तिमी खुद कविता हौ
कविताको वर्णन कविताले गर्नु जरुरी छ र?
तिम्रा मृगनयनी आँखाहरु फररर बोलिरहेका हुन्छन्
ओठहरु मीठो सुरतालले बाचन गरिरहेका हुन्छन्
सुनकेसरी केस श्रोताहरुको ध्यान खिचिरहेको हुन्छ
अनि पुक्क परेका स्याउजस्ता गालाहरु,
संगीत भर्न चल्छन्, मादलका गोटीजस्तै।

जादुमयी तिम्रा हातहरु,
चटक्क छिनेको कम्मर,
अनि सलक्क मिलेका पाउहरु
यस्तो हाउभाउले चल्न जानेका छन् कि
गीतसरी बाचन भएका कवितालाई
सजिलै मुर्तरुप दिन जानेका छन्, नृत्यजस्तै।

बिचबिचमा,
सेता हिमालजस्तै देखिने मिलेका दन्तलहरले
छुट्टै आकर्षण पैदा गर्छन्,
यस्तो आकर्षण जस्तो कि
पहिलोचोटी हिमाल र हिउँ देखेका पर्यटकलाई हुन्छ
छट्पटिरहेको बेचैन मन, त्यो पनि शान्त भैदिन्छ।

कविता, तिमी यस्ती सुन्दरताकि खानी छ्यौ
बिना श्रिङ्गार  पनि तिमी यति सुन्दर देखिन्छ्यौ
मैले तिम्रो लागि कविता नलेखिरहदा पनि
हिमाल, पहाड, फाँटहरुले
वनजंगल, जन्तुजनावर, चराचुरुङ्गीहरुले
सलल बग्ने हावाले
आकाशमा उडिहिड्ने बादलुले
झर्झर पर्ने पानीले
पोखरी, ताल, समुन्द्रले
र कलकल बग्ने नदिले
हरदम हरपल तिम्रै कविता लेखिरहेका हुन्छन् ।


" खोजी, जादुमयी डोरीको "


ऊ आफ्नो जीवनलीला समाप्त पार्न चाहन्छ। एउटा चर्चीत गीत थ्यो नि सुर्केथैली खै, हो त्यो गीतमा पटुकीमा सुर्केको जस्तै गरी एउटा डोरी सुर्क्याउने रे आफ्नो घाँटीमा। अचम्मको छ उस्को चाहना पनि। म अब उस्लाई झुन्डिनबाट बचाउन कति घरका भित्ता फोर्न सकुला? कति सिलिङको पंखा झार्न सकुला? कति रुख ढाल्न सकुला? कति खम्बा उखेल्न सकुला? एउटा अचम्मको कुरा ऊ केही कुरा नि लुकाउदैन मसँग। ऊ आँशु खस्नेगरी हासेको पनि देखेका छन्  यी आखाले र देखेका छन् तिमाल्नै नसकिनेगरी डाको छोडीछोडी रोएको पनि। यो उस्को मप्रतिको माया हो, पिरीम हो या अरु नै केही यो उसैले जानोस् कि त जानोस् यो सृष्टि चलाउनेले। अब मसँग अरु कुनै बिकल्प बाकी देख्दिन उस्को निर्णय बदल्ने किनकी उस्लाई सम्झाईबुझाई जीवनको यथार्थमा घन्टौ भाषण छाड्नेदेखी लिएर तुरुन्तै मुड चेन्ज गर्ने कैलाश चियाको सेवन सम्म केही कसर बाकी राखिएन। आज डोरी खोज्न जाँदैछु बजारबजारमा उस्को लागि, घाटी सुर्क्याउने उस्को इछ्यापुर्तीको लागि, त्यो काम नि मैले गर्दिनुपर्ने हेर्नुस् त उस्को माया। मलाई एउटा मात्र कुराको ध्यान छ कि यस्तो डोरी भेट्टाउन सकुँ जस्ले उस्को तौल थाम्न नसकोस्, बजार्‍योस् बजिया भुइँमा नमज्जाले बरु र मुड चेन्ज भैदियोस उस्को। हेरौँ कतै पाई पो हाल्छ कि त्यो जादुमयी डोरी।