Thursday, 25 January 2018

" परिस्थितिले जुराइदेको एउटा यस्तो म्याराथन "


एउटा मरन्च्यासे आइमाई
उस्तै मरन्च्यासे काखे बालक बोकेर
हरेक सामान रु १० मा को नारा घन्काउदैछे
ठुल्ठुलो स्वरमा, झन ठूलो स्वरमा
उस्कै सामुन्नेबाट
कति केटाकेटी, कति जवान, कति उस्कै उमेरका
फेसनका नाममा
च्यातेका कपडा पहिरी निर्लज्ज हिडेका छन्
डुब्न लागेको सुर्यको मधुरो प्रकाशजस्तै
ढल्केको जवानी खोल ओढेकी उ भने
च्यात्तिएको लुगाबाट लाज नपोखियोस भनी
टालटुल सियोधागो गरेर लगाएकी छे
अझै उस्ले नदेखेेेेका देखीदेखी टाल्न नभ्याएका
कति अरु तेस्ता ठाउहरु ज्युका त्यु छन
र पनि
र पनि अझै उस्मा लाज हराएको छैन
किनकी लाज खुद लजाउछ 
च्यात्तिएको ठाउबाट चियाएर हेर्न
लाज खुद डराउछ 
लाज चाडै टालिन्छ भन्ने विश्वास तोड्न

हरेक सामान रु १० मा
हरेक सामान रु १० मा
घाँटी सुक्ने गरी चिच्याउदैछे
धुलाम्मे सडक छेउको धुलाम्मे फुटपाथमा
देख्छे नजिकैको अर्को व्यापारीसग
अचम्मको मेसिन पो रैछ
उजस्तै गरी
घोक्रो च्यातिने गरि
त्यो व्यापारी मान्छे चिच्याउदैन
बरु चिच्याउछ त त्यै मेसिन
हरेक सामान रु २० मा भन्दै
ठूलो सानो बनाउन कान निमोठे पुग्ने
अचम्मको त्यो मेसिनलाई
एक टकले हेरिरहन्छे
टोलाइरहन्छे उत्सुकताले
कहिले नदेखेको
हुन्छ नि बहुमुल्य चिज देखेजस्तो
उ एक्छिन अघि कन्ठस्थ नारा बिर्सन्छे
त्यै क्या त
हरेक सामान रु १० मा को नारा
टोलाइरहन्छे बस टोलाइरहन्छे
सायद कल्पनामै सही
त्यो आफै चिच्याउने मेसिन किन्ने सोच्दैछे
उस्ले कमाएको पैसाले  दुई छाक टारी बचेको पैसाले
त्यो बालकलाई नाना किनिओरी बचेको पैसाले
जड्याहा बुढाले उस्को कमाइ लुट्दा छुटेको पैसाले
कल्पनामै सहि
कल्पनामै सहि बस केही पल बस केही क्षण
हरेक सामान रु १० को चिच्याहटलाई आराम दिदैछे

उस्को कल्पनामा बाधा पुग्छ
एक्कासिको होहल्ला, दौडादौडको आवाजले
र झल्यास्स होसमा आउछे उ
देख्छे त्यो मेसिन समेत
मेसिनवाला त निकै टाढा पुगिसकेछ
फेरि देख्छे महानगरको गाडी
देख्छे सामान उठाउदै फ्याल्दै गरेका
महानगरका कर्मचारीहरु
बिचरी एक्छिन दोधारिन्छे
के गरु के नगरु
सनोतिनो युद्द नै हुन्छ के गर्ने के नगर्नेबिच
यसो हेर्छे
साथमा एउटा लुरे बालक
र बेच्न राखेको तेत्रो सामान
खै के सोच्छे कुन्नी
एक हातले सामान समाउछे
अर्को हातले त्यै लुरेलाई समाउछे
अनि दौडिन्छे एकतमासले
बेलाबेला फर्कीफर्की हेर्छे पनि
कतिको दौडिदैछन अरु व्यापारीहरू
कतिको दौडिदैछन कर्मचारीहरु
फेरी दौडिन्छे एकतमासले
यस्तो लाग्छ
यस्तो लाग्छ कसैलाई उछिन्न दिने सोचमा छैन उ आज
यो गरिबीले जुराइदेको म्याराथनमा
यो परिस्थितिले जुराइदेको म्याराथनमा



No comments:

Post a Comment