Wednesday, 21 April 2021

"बनै खायो डढेलोले,मनै खायो त्यै मोरीको पापि मायाले"

 


एक
 झिल्को आगोको
खै कताबाट उडेर आयो

एक भाग हावाको

एक भाग बिद्वान मानव 

एक भाग सुकेको पात

एक भाग निष्ठुरी वर्षा

सबैको मिलेमतोमा

कसैले दुई नम्बरी काम गरेजस्तो

कसैले दुई नम्बरी काममा सघाएजस्तो

कसैले आँखा चिम्लेजस्तो परिस्थितिमा

त्यो आगो दनदनि बल्यो बनमा

 बनै खायो डढेलोले 



एक झिल्को रिसको

खै कुन कुनाबाट जागेर आयो

एक भाग   मेरो मन

एक भाग त्यै मोरी  त्यै मोरीको मन

एक भाग औधि लाग्ने त्यै मोरीको माया

एक भाग दुनियाँ दिवाना

सबैको मिलेमतोमा

कसैले दुई नम्बरी काम गरेजस्तो

कसैले दुई नम्बरी काममा सघाएजस्तो

कसैले आँखा चिम्लेजस्तो परिस्थितिमा

त्यो आगो दनदनि बल्यो मनमा

 मनै खायो त्यै मोरीको पापि मायाले